काठमाडौं । नेपालबाट गएको हिमालयन र्याम्बलर ट्रेक्स एन्ड एक्सपेडिसनको टोलीले ७ हजार १३४ मिटर उचाइको लेनिन पिक सफलतापूर्वक आरोहण गरेको छ।
यस वर्षको अभियानमा सहभागी २४ नेपाली शेर्पामध्ये १३ जनाले लेनिन पिकको शिखर चुमेका हुन्। हिमालयन र्याम्बलरका अनुसार शिखरमा पुगेका १३ शेर्पाले विभिन्न आरोहण टोलीलाई उच्च हिमाली क्षेत्रमा मार्गदर्शन गर्दै सुरक्षित रूपमा शिखरसम्म पुर्याउन महत्वपूर्ण भूमिका खेलेका थिए। उनीहरूको नेतृत्वमा करिब ३० जना आरोहीले समेत लेनिन पिकको सफल आरोहण गरेको कम्पनीले जनाएको छ। यस अभियानमा हिमालयन र्याम्बलर ट्रेक्स एन्ड एक्सपेडिसनका प्रमुख कार्यकारी अधिकृत (सीईओ) पासाङ गेल्जे शेर्पा पनि सहभागी थिए। उनले यसपटक लेनिन पिकको एकपटक सफल आरोहण गरेका छन्।
लेनिन पिक आरोहण गर्ने १३ शेर्पा
कम्पनीका अनुसार यस वर्ष शिखरमा पुग्ने शेर्पाहरूमा दारिन्जी शेर्पा, निमा ग्याल्जेन शेर्पा, छिरिङ टेन्डी शेर्पा (बी), निमा टेन्डी शेर्पा, पासाङ गेल्जे शेर्पा, दावा तेन्जी शेर्पा, आङ दावा शेर्पा, ल्हाक्पा छिरी शेर्पा, निमा नुरु शेर्पा, दावा जाङ्बु लामा, छिरिङ टेन्डी शेर्पा (ए), ल्हाक्पा नुरु शेर्पा र फुरु सोना शेर्पा रहेका छन्। उपलब्ध विवरणअनुसार दारिन्जी शेर्पा, निमा ग्याल्जेन शेर्पा, छिरिङ टेन्डी शेर्पा (बी) र निमा टेन्डी शेर्पाले दुई–दुई पटक लेनिन पिकको शिखर आरोहण गरेका छन् भने अन्यले एक–एक पटक शिखर चुमेका छन्। अभियानका क्रममा नेपाली शेर्पाहरूले आरोहणको प्राविधिक तथा व्यवस्थापकीय जिम्मेवारीसमेत सम्हालेका थिए। उनीहरूले विदेशी तथा अन्य आरोहीलाई उच्च हिमाली क्षेत्रमा मार्गदर्शन, सुरक्षा व्यवस्थापन र शिखर आरोहणमा आवश्यक सहयोग पुर्याएका थिए।
हिमालयन र्याम्बलरले आफ्नो आधिकारिक सामाजिक सञ्जालमार्फत सन् २०२६ को लेनिन पिक अभियान सफल भएको जानकारी सार्वजनिक गर्दै सम्पूर्ण टोलीलाई बधाई दिएको छ। विश्वका अग्ला हिमाल आरोहणमा नेपाली शेर्पाहरूको योगदान र सक्रियता बढ्दै गएसँगै पछिल्लो समय विभिन्न देशले समेत नेपाली शेर्पाहरूलाई आरोहण अभियानमा सहभागी गराउँदै आएका छन्। ७ हजार १३४ मिटर अग्लो लेनिन पिक किर्गिस्तान र ताजिकिस्तानको सीमास्थित पामिर पर्वत शृंखलामा रहेको उच्च हिमाली शिखर हो। मध्य एसियाको प्रमुख पर्वतारोहण गन्तव्यका रूपमा परिचित यो शिखर ७ हजार मिटरभन्दा अग्ला हिमालमध्ये तुलनात्मक रूपमा कम प्राविधिक कठिनाइ भएको आरोहण गन्तव्यका रूपमा समेत चिनिन्छ।