काठमाडौँ । आज देशभर १८५औँ विश्व फोटोग्राफी दिवस मनाइँदै छ। प्रत्येक वर्ष अगस्ट १९ तारिखका दिन विश्वभर मनाइने यो दिवसको अवसरमा नेपालमा पनि फोटोग्राफी क्षेत्रमा क्रियाशील संघसंस्था तथा फोटोपत्रकारहरूले विभिन्न कार्यक्रमको आयोजना गरी मनाइरहेका छन्।
फोटोग्राफी कलामा रुचि राख्ने मानिसहरूलाई थप प्रोत्साहन गर्न र व्यावसायिक रूपमा फोटोग्राफीलाई नै जीवनवृत्ति बनाएका व्यक्तिहरूको योगदानको कदर तथा सम्मान गर्नका लागि यो दिवस मनाउने गरिन्छ। फोटोग्राफीको इतिहासलाई स्मरण गर्दै विश्वभरि नै आजका दिन फोटो प्रदर्शनी, अन्तक्र्रिया तथा सम्मान कार्यक्रमहरू सञ्चालन हुने गर्दछन्।
विश्वव्यापी रूपमा १८५औँ संस्करणको रूपमा यो दिवस मनाइँदै गरिए तापनि नेपालमा भने सन् २०१० देखि मात्रै औपचारिक रूपमा विश्व फोटोग्राफी दिवस मनाउन थालिएको हो। त्यसयता नेपालमा फोटोपत्रकारिता र व्यावसायिक फोटोग्राफीको प्रवर्धनका लागि विभिन्न सचेतनामूलक तथा रचनात्मक गतिविधिहरू हुँदै आएका छन्।