नुवाकोट । लगातारको वर्षाका कारण सडकमा पहिरो र लेदो खस्ने क्रम बढेपछि नुवाकोट जिल्ला प्रशासनले टोखा–छहरे सडकखण्डमा रातिको समयमा सवारी आवागमन बन्द गरेको छ। नुवाकोट हुँदै धादिङ र चीनसँगको व्यापारिक नाका रसुवागढीसम्म जोड्ने यो मुख्य सडकमा पहिरोको जोखिम उच्च रहेकाले यात्रुको सुरक्षालाई ध्यानमा राखी हरेक दिन राति १०ः०० बजेदेखि बिहान ५ः०० बजेसम्मका लागि यातायात सञ्चालनमा रोक लगाइएको हो।
शिवपुरी गाउँपालिका–८ स्थित घट्टेखोला तथा आसपासका क्षेत्रमा वर्षाका कारण लेदो र गेग्रान खस्ने जोखिम बढेकाले भदौ १ गते रातिदेखि लागू हुने गरी यो व्यवस्था मिलाइएको नुवाकोटका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले जानकारी दिएका छन् । अर्को सूचना जारी नभएसम्मका लागि रातिको समयमा अत्यावश्यक बाहेकका सबै प्रकारका सवारीसाधन सञ्चालनमा पूर्ण प्रतिबन्ध लगाइएको प्रशासनले जनाएको छ।
जोखिमयुक्त स्थानमा सुरक्षाकर्मी परिचालन गरिएको छ भने एम्बुलेन्सलगायतका आकस्मिक सेवाका सवारीसाधनलाई भने निर्वाध सञ्चालन हुन दिइने व्यवस्था मिलाइएको छ। प्रमुख जिल्ला अधिकारी रेग्मीले वर्षाको समयमा अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन र रातिको समयमा यात्रा नगर्न सर्वसाधारण, यातायात व्यवसायी तथा सम्बन्धित सबैलाई आग्रह गरेका छन् ।
यसैबिच जिल्ला प्रहरी कार्यालय नुवाकोटले मौसम र सडकको अवस्था जोखिमपूर्ण रहेकाले उच्च सावधानी अपनाउन र प्रशासनको निर्णय पालना गर्न आग्रह गरेको छ। विपद्सम्बन्धी जानकारी वा उद्धारका लागि जिल्ला प्रहरी कार्यालयको १००, सशस्त्र प्रहरी बलको १११४ र जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्रको १२३४ मा सम्पर्क गर्न सकिने जनाइएको छ।