काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेकाले देशका विभिन्न भूभागमा बदली हुनुका साथै वर्षा भइरहेको छ। हाल कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। यस अवधिमा देशका हिमाली भूभागका केही स्थानमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना छ। त्यसैगरी, पहाडी भूभागका धेरै स्थान, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थान तथा मधेस र कोशी प्रदेशको तराईका थोरै स्थानमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको छ। विशेषगरी कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ भने कोशी प्रदेशको तराई र मधेस प्रदेशका केही स्थानमा हावाहुरीसमेत चल्न सक्नेछ।
आज राति पनि देशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ भने तराई भूभागमा आंशिकदेखि साधारणतया बादल लाग्ने अनुमान गरिएको छ। रातिको समयमा देशका हिमाली भूभागका थोरै स्थान र पहाडी भूभागका केही स्थानमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना छ। साथै, कोशी र लुम्बिनी प्रदेशको तराई भूभागका केही स्थान र मधेस, बागमती, गण्डकी तथा सुदूरपश्चिम प्रदेशको तराईका थोरै स्थानमा चट्याङ्गसहित मध्यम वर्षा हुने महाशाखाले जनाएको छ।