काठमाडौं । देशभर मनसुन सक्रिय, पाँच प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना देशभर मनसुनी वायुको प्रभाव कायमै रहँदा आज विभिन्न क्षेत्रमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
हाल देशका अधिकांश भूभागमा सामान्यदेखि पूर्ण बदली रहेको छ भने केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। महाशाखाका अनुसार आज दिउँसो देशभर बदली रहनेछ। हिमाली तथा पहाडी भूभागका धेरै स्थानमा चट्याङसहित मध्यम वर्षा हुनसक्ने अनुमान गरिएको छ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थान तथा मधेस र कोशी प्रदेशका थोरै स्थानमा पनि वर्षाको सम्भावना छ।
कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ। यस्तै, कोशी प्रदेशको तराई र मधेस प्रदेशका केही स्थानमा हावाहुरी चल्नसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। आज रातिसमेत हिमाली तथा पहाडी क्षेत्रमा बदली रहनेछ। केही स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ भने कोशी र लुम्बिनी प्रदेशका तराई भूभागसहित मधेस, बागमती, गण्डकी र सुदूरपश्चिमका केही क्षेत्रमा पनि वर्षा हुनसक्ने जनाइएको छ।