काठमाडौँ । नेपाली काङ्ग्रेसको १५औँ केन्द्रीय महाधिवेशन पूर्वनिर्धारित मितिमै सम्पन्न हुने जनाएको छ । केन्द्रीय निर्वाचन समितिले असोज १६ देखि १९ गतेसम्म काठमाडौँमा महाधिवेशन गर्ने निर्णयलाई यथावत् राख्दै तल्ला तहका विभिन्न अधिवेशनका लागि भने परिमार्जित निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ। निर्वाचन समितिका संयोजक प्रेमबहादुर खड्काद्वारा जारी विज्ञप्तिअनुसार वर्षात्का कारण पर्न सक्ने प्रतिकूल प्रभाव तथा पार्टीभित्र व्यापक सहभागिताका लागि संवाद र सहमतिको वातावरण बनाउन तहगत तालिका हेरफेर गरिएको हो।
नयाँ कार्यतालिकाअनुसार आगामी २०८३ भदौ २४ गते देशभरका ६ हजार ७ सय ४३ वडामा एकैसाथ वडा अधिवेशन गरी क्षेत्रीय प्रतिनिधि चयन गरिनेछ। यसैगरी भदौ २७ गते गाउँ तथा नगरपालिका अधिवेशन, भदौ ३१ गते प्रदेशसभा क्षेत्रीय अधिवेशन र असोज ३ गते प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनका साथै एक मात्र निर्वाचन क्षेत्र भएका जिल्लाहरूमा जिल्ला अधिवेशन हुनेछ। असोज ३ गते नै महाधिवेशन प्रतिनिधि चयन तथा सम्बन्धित कार्यसमितिको निर्वाचन सम्पन्न गरिनेछ भने असोज ७ गते बाँकी जिल्ला अधिवेशन र असोज १० गते प्रदेश अधिवेशन सञ्चालन हुने कार्यतालिका तय गरिएको छ।
निर्वाचन प्रक्रियालाई व्यवस्थित बनाउन समितिले भदौ २ देखि १० गतेसम्म निर्वाचन प्रतिनिधिलाई अभिमुखीकरण तालिम दिने र भदौ ११ गते निर्वाचन अधिकृतहरूलाई जिल्ला खटाउने जनाएको छ। भदौ १५ गते वडामा प्रतिनिधि खटाएर भदौ १६ देखि २० गतेसम्म वडा तहमा अभिमुखीकरण चलाइनेछ भने जनसम्पर्क समितिहरूको अधिवेशन भदौ मसान्तभित्र सक्ने समयसीमा तोकिएको छ। काङ्ग्रेस केन्द्रीय कार्यसमितिको साउन २४ देखि भदौ १ गतेसम्म बसेको बैठकले संविधान, पार्टी विधान तथा सर्वोच्च अदालतको २०८३ वैशाख ४ गतेको फैसलालाई ध्यानमा राखी महाधिवेशन अघि बढाउने निर्णय गरेबमोजिम यो नयाँ क्यालेन्डर ल्याइएको हो।

