काठमाडौँ । नेपाल प्रहरी र राष्ट्रिय वाणिज्य बैंक लिमिटेडबिच नेपाल प्रहरीका कर्मचारीहरूको तलबी बचत खाता सञ्चालन तथा कर्जा प्रवाहसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ। राष्ट्रिय वाणिज्य बैंकले विगत १० वर्षदेखि प्रहरी कर्मचारीहरूको तलबी खाता सञ्चालन गर्दै आएकामा उक्त सम्झौताको अवधि समाप्त भएकाले सो सेवालाई निरन्तरता दिन मंगलबार पुनः ५ वर्षका लागि सम्झौता नवीकरण गरिएको हो।
नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित विशेष कार्यक्रमबिच प्रहरी महानिरीक्षक दान बहादुर कार्की र राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत देबेन्द्र रमण खनालले समझदारीपत्रमा हस्ताक्षर तथा आदानप्रदान गरे । कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कार्कीले यस सम्झौताले अहोरात्र खटिने प्रहरी कर्मचारीहरूलाई आफ्नो जिम्मेवारी बहन गर्न थप उत्प्रेरणा मिल्ने र अवकाशप्राप्त, अमर तथा अशक्त प्रहरीका परिवारजनले सुलभ कर्जा सुविधा पाउने विश्वास व्यक्त गरे । बैंकका प्रमुख कार्यकारी अधिकृत खनालले नेपाल प्रहरीसँग आगामी दिनमा पनि सहकार्य निरन्तर रहने प्रतिबद्धता जनाए ।
नवीकरण गरिएको सम्झौताअनुसार बहालवाला तथा अवकाशप्राप्त प्रहरी कर्मचारीहरूका लागि १५ लाख रुपैयाँसम्मको बिनाधितो पेशाकर्मी सरल कर्जा र ५ लाख रुपैयाँसम्मको पेन्सनर कर्जा उपलब्ध गराइनेछ। साथै, २० वर्षसम्मका लागि ५० लाख रुपैयाँसम्मको घर कर्जा र ७ देखि १० वर्षका लागि गाडी कर्जासमेत प्रदान गरिनेछ। सम्झौतामा घर कर्जामा १ प्रतिशत, गाडी कर्जामा १.७५ प्रतिशत र शैक्षिक कर्जामा १ प्रतिशत प्रिमियम ब्याजदर कायम गरिएको छ।
यसैगरी, ड्युटी वा दुर्घटनामा परी प्रहरी कर्मचारीको मृत्यु वा पूर्ण अपाङ्गता भएमा ५ लाख रुपैयाँको बिमा सुविधा उपलब्ध गराइनेछ। दुर्घटनामा घाइते भई उपचार गर्नुपर्ने अवस्थामा अस्पतालको बसाइ र खर्चको क्षतिपूर्ति उपलब्ध गराउने गरी प्रतिव्यक्ति १०० रुपैयाँ शुल्कमा बिमा गराउन सकिने व्यवस्था गरिएको छ। उक्त कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक डम्बर बहादुर बिकलगायत वरिष्ठ प्रहरी अधिकृतहरू र बैंकका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
