पर्सा । भन्सार छली चोरी पैठारी गरी नेपाल भित्र्याइएका १२ वटा भारतीय इलेक्ट्रिक स्कुटर नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय पर्साले सोमबार वीरगन्जका विभिन्न स्थानहरूमा गैरकानुनी रूपमा चलाइरहेको अवस्थामा ती स्कुटरहरू नियन्त्रणमा लिइएको हो।
प्रहरीका अनुसार बरामद गरिएका भारतीय इलेक्ट्रिक स्कुटरहरूको अनुमानित बजार मूल्य ९ लाख ६० हजार रुपैयाँ रहेको छ। आवश्यक अनुसन्धान तथा थप कानुनी कारबाहीका लागि नियन्त्रणमा लिइएका सबै स्कुटरहरूलाई वीरगञ्ज भन्सार कार्यालयमा बुझाउने प्रक्रिया अघि बढाइएको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक चक्र बहादुर मल्लद्वारा जारी प्रेस विज्ञप्तिमा गैरकानुनी रूपमा भन्सार छली गरिने यस्ता गतिविधिहरूमाथि प्रहरीले निगरानी बढाएको र अनुसन्धान जारी रहेको जनाइएको छ।