काठमाडौँ । सरकारले आन्दोलनरत ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’का प्रतिनिधिसँग वार्ताका लागि चार सदस्यीय टोली गठन गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सहसचिव लीलाधर सुवेदीको संयोजकत्वमा उक्त वार्ता टोली गठन गरेको हो। वार्ता टोलीका अन्य सदस्यहरूमा गृह मन्त्रालयका सहसचिव आनन्द काफ्ले, अर्थ मन्त्रालयका सहसचिव महेश आचार्य र भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव डिलाराम पन्थी रहेका छन् ।
यसअघि सोमबार दिनभर जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रमुख जिल्ला अधिकारी नरहरि घिमिरेको कार्यकक्षमा महाअभियानका प्रतिनिधि र सरकारी प्रतिनिधिहरूबिच गहन छलफल भएको थियो। उक्त छलफलका क्रममा महाअभियानले अघि सारेका मागका सम्बन्धमा नेपाल सरकारका तर्फबाट औपचारिक रूपमा वार्ता टोली गठन गरी आन्दोलनरत पक्षलाई वार्ताका लागि आह्वान गर्ने सहमति भएको थियो।
सरकारले औपचारिक रूपमा वार्ताका लागि गरेको आह्वानलाई सम्मान गर्दै महाअभियानका प्रतिनिधिहरूले वार्ताका लागि प्राप्त पत्रसमेत ग्रहण गरिसकेका छन्। ललितपुरमा भएको उक्त प्रारम्भिक छलफलमा महाअभियानका तर्फबाट विष्णु बोहोरा क्षेत्री, राजु आचार्य, सकुनी सिंह, हरदेव महतो, तारा बजगाईं र विजय थापालगायतका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। सरकारको तर्फबाट पत्र प्राप्त भएसँगै महाअभियानले पनि आफ्ना तर्फबाट यथाशीघ्र वार्ता टोली गठन गरी औपचारिक संवाद अघि बढाउने तयारी गरेको छ।

