काठमाडौँ । एक घरबाट चाँदी, तामा तथा पित्तलका विभिन्न गरगहना र सामग्रीहरू चोरी गरी फरार रहेका एक जनालाई प्रहरीले सामानसहित पक्राउ गरेको छ। गत शनिबार साढे ६ बजे महालक्ष्मी नगरपालिका–६, सानागाउँ बस्ने प्रकाश ताम्राकारको घरबाट धनमाल चोरी गरी फरार रहेको सूचनाका आधारमा प्रहरी वृत्त सातदोबाटोबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–२६, लैनचौर स्थायी घर भई हाल ललितपुर महानगरपालिका–२८, हरिसिद्धी बस्ने ३१ वर्षीय अनिल खड्गी रहेका छन्।
प्रहरीले खड्गीको साथबाट ठूलो परिमाणमा चोरीका सामानहरू बरामद गरेको छ। उनको साथबाट तामाको फिल्टर, जग, दियो, कलश, पञ्चमाला, अष्टमण्डल, पित्तलको पन्यु, चाँदीको जस्तो देखिने टिकादानी तथा कल्ली, विभिन्न धातुका मूर्ति, घडी, सुनको जस्तो देखिने सिक्री तथा ब्रासलेट, पोतेमाला र कपडालगायतका सामानहरू बरामद गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका खड्गीमाथि चोरीसम्बन्धी कसुरमा मुद्दा दर्ता गरी ललितपुर जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान प्रक्रिया अघि बढाइएको छ। घटनाको सम्बन्धमा प्रहरी वृत्त सातदोबाटोले थप गहन अनुसन्धान भइरहेको जानकारी दिएको छ।