काठमाडौँ । ‘राष्ट्रिय बाल दिवस २०८३’ का लागि राष्ट्रिय नारा तथा कार्यक्रमसम्बन्धी सुझाव पेस गर्न आह्वान गरेको छ। राष्ट्रिय बाल अधिकार परिषद्ले आगामी भदौ २९ गते मनाइने बाल दिवसका अवसरमा हुने कार्यक्रमका लागि सुझाब आह्वान गरेको छ।
परिषद्ले ललितपुरको श्रीमहलस्थित आफ्नो कार्यालयबाट सूचना जारी गर्दै बाल अधिकारको संरक्षण तथा प्रवद्र्धनका लागि उपयुक्त हुने नारा र कार्यक्रमसम्बन्धी प्रस्ताव पेस गर्न सम्बन्धित सबै सरोकारवाला निकाय, सङ्घ–संस्था, व्यक्ति तथा बालबालिकाहरूलाई अनुरोध गरेको हो।
परिषदद्वारा जारी सूचना अनुसार इच्छुक व्यक्ति वा संस्थाले आगामी भदौ ५ गतेभित्र आफ्नो सुझाव परिषद्को आधिकारिक इमेलमा पठाउन सक्नेछन्। प्राप्त सुझावहरूमध्ये विशेष गरी बालबालिका स्वयंबाट प्राप्त सुझावहरूलाई प्राथमिकतामा राखिने परिषद्ले जनाएको छ। तिनै प्राप्त प्रस्ताव तथा आवश्यकताका आधारमा राष्ट्रिय बाल दिवस २०८३ को मूल नारा निर्धारण गर्नुका साथै दिवसका अवसरमा सञ्चालन गरिने कार्यक्रमहरूको तर्जुमा गरिने व्यहोरा सूचनामा उल्लेख छ।
