काठमाडौँ । कोहलपुरमा ठूलो परिमाणको लागुऔषध अफिमसहित दुई जना पक्राउ परेका छन । लागुऔषध नियन्त्रण ब्यूरोले हवाई फायर गरी नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ । लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगञ्ज र सुर्खेतबाट खटिएको संयुक्त प्रहरी टोलीले बाँके जिल्लाको कोहलपुर नगरपालिका वडा नं. ६ बाट उनीहरूलाई नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार भदौ १ गते लागुऔषध अफिम कारोबार भइरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिन खोज्दा भागेपछि रोक्नका लागि चेतावनी स्वरूप टोलीले १ राउण्ड हवाई फायर गरेको थियो। प्रहरीले उनीहरूको साथबाट १४ केजी ७६० ग्राम अफिम र दुई थान मोबाइल बरामद गरेको छ। पक्राउ पर्नेहरूमा रुकुम (पूर्व) सिस्ने गाउँपालिका वडा नं. १ ठेगाना भएका ४३ वर्षीय कर्ण बहादुर बुढा र बाँके कोहलपुर नगरपालिका वडा नं. ६ ठेगाना भएका ६० वर्षीय टोप जङ्ग गिरी रहेका छन्।
प्रहरीले बरामद गरिएको लागुऔषध र मोबाइलसहित दुवै प्रतिवादीहरूलाई आवश्यक थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय कोहलपुर, बाँकेमा बुझाएको छ। लागुऔषध नियन्त्रण ब्यूरोका सह–प्रवक्ता प्रहरी नायव उपरीक्षक जिवन निरौलाद्वारा हस्ताक्षरित विज्ञप्तिमा घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ।