काठमाडौँ । प्रतिनिधिसभाकी उपसभामुख रुबी ठाकुरले जनआस्था साप्ताहिकका प्रधान सम्पादक एवम् पत्रकार किशोर श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी दिएकी छन् । उपसभामुख ठाकुरले सोमबार जिल्ला प्रहरी परिसर ललितपुर पुगेर श्रेष्ठविरुद्ध औपचारिक जाहेरी दर्ताका लागि निवेदन पेस गरेकी हुन् ।
जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार प्राप्त जाहेरी दर्ता भइसकेको छैन भने यसबारे कानुनी अध्ययन भइरहेको छ। प्रहरीले जाहेरीमा उल्लेख गरिएका विषयवस्तु र कानुनी प्रावधानहरूको अध्ययनपछि मात्र दर्ताको प्रक्रिया अघि बढाउने जनाएको छ।
यसैबिच, गैरकानुनी थुनामा राखिएको भन्दै परेको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले पत्रकार श्रेष्ठलाई सोमबार नै हिरासतमुक्त गरी बाहिरै राखेर अनुसन्धान गर्न परमादेश जारी गरिसकेको छ। सर्वोच्चको आदेशलगत्तै उपसभामुखका तर्फबाट प्रहरीमा अर्को जाहेरी परेको हो।