काठमाडौँ । लामो समयदेखि बन्द अवस्थामा रहेको वीरगन्ज चिनी कारखाना पुनः सञ्चालन गर्ने तयारीस्वरूप सरकारले अध्ययन प्रक्रिया अघि बढाएको छ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले कारखानाको अवस्था अध्ययन गर्न श्रीकान्त यादवको संयोजकत्वमा कार्यदल गठन गरेको हो। कार्यदलले कारखानाको वित्तीय, प्राविधिक, कानुनी तथा भौतिक अवस्थाका साथै जग्गा तथा अन्य सम्पत्तिको समेत अध्ययन गर्नेछ। कार्यदललाई अध्ययन पूरा गरी १५ दिनभित्र मन्त्रालयसमक्ष प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको छ। कार्यदलले तयार पार्ने प्रतिवेदनका आधारमा वीरगन्ज चिनी कारखाना पुनः सञ्चालन गर्न सकिने वा नसकिने विषयमा आवश्यक निर्णय लिइने मन्त्रालयले जनाएको छ। साथै कारखाना सञ्चालनको सम्भाव्यता देखिएमा त्यसका लागि आवश्यक आगामी कार्ययोजनासमेत तय गरिनेछ। वर्षौंदेखि बन्द रहेको कारखाना पुनः सञ्चालनमा ल्याउने विषयमा सरकारले थालेको अध्ययनलाई स्थानीय स्तरमा समेत चासोका साथ हेरिएको छ।