काठमाडौँ । स्मार्ट टेलिकमको सम्पत्ति गैरकानुनी रूपमा लिलामी गरेको प्रकरणमा अनुसन्धानको दायरामा रहेका नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड (एनआईएमबीएल)का अध्यक्ष पृथ्वीबहादुर पाँडे र प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योतिप्रकाश पाण्डे कानुनी प्रक्रिया छलेर फरार भएपछि प्रहरीले खोजी तीव्र पारेको छ। कानुनी कारबाहीको दायराबाट निरन्तर भाग्दै आएका उनीहरूलाई पक्राउ गर्ने तयारी भइरहेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोका प्रमुख एआईजी उमाप्रसाद चतुर्वेदीले जानकारी दिएका छन् । उनीहरूविरुद्ध मुलुकी अपराध संहिताअनुसार ठगी तथा आपराधिक विश्वासघातको कसुरमा अनुसन्धान भइरहेको जनाएको छ।
सरकारी नियन्त्रणमा आइसकेको स्मार्ट सेलको सम्पूर्ण पूर्वाधार तथा सम्पत्तिलाई बैंकले २०८२ असोजमा ४ अर्ब ६० करोड रुपैयाँमा एनसेललाई लिलामी गरेको थियो। दूरसञ्चार प्राधिकरणलाई रोयल्टी र नवीकरण दस्तुरबापतको करिब ३० अर्ब रुपैयाँ नबुझाएपछि २०८० वैशाख ३ गते स्मार्ट टेलिकमको लाइसेन्स रद्द भई नियमावलीअनुसार त्यसको स्वामित्व नेपाल सरकार र प्राधिकरणमा गएको थियो। सरकारी स्वामित्वको सम्पत्ति गैरकानुनी रूपमा लिलामी गरेपछि सीआईबीले अनुसन्धान सुरु गर्दा दुवै जना फरार भएका थिए।
यसअघि भाग्ने क्रममै सीईओ पाण्डे गत वैशाख २९ गते सिन्धुलीबाट पक्राउ परेका थिए भने सर्वोच्च अदालतले उनलाई जेठ १ गते हाजिर जमानीमा रिहा गर्न आदेश दिएको थियो। यस्तै अध्यक्ष पाँडेले पनि साउन २१ गते सर्वोच्चबाट अन्तरिम आदेश पाएका थिए। अदालतले थुनाबाहिरै रहेर मुद्दाको पुर्पक्ष गर्ने सुविधा दिए पनि उनीहरू निरन्तर अदालती प्रक्रियामा अनुपस्थित भई भाग्दै आएका छन्। सीआईबीका अनुसार प्रक्रिया उल्लङ्घन गरेकाले सीईओ पाण्डेलाई जरुरी पक्राउ पुर्जी जारी गरी जुनसुकै बेला नियन्त्रणमा लिइनेछ भने अध्यक्ष पाँडेको हकमा कानुनी परामर्श गरी पक्राउको तयारी भइरहेको छ।