काठमाडौँ। नेपाल वैदेशिक रोजगार व्यवसायी संघले आफ्ना माग सम्बोधन नभएको भन्दै आजदेखि देशभरका म्यानपावर कार्यालय बन्द गर्ने निर्णय गरेको छ।
सरकारलाई दिएको समयसीमाभित्र मागबारे सहमति जुट्न नसकेपछि वैदेशिक रोजगार व्यवसायीहरूले श्रमिकलाई विदेश पठाउने प्रक्रिया समेत रोक्ने भएका हुन्। संघले सेवा शुल्क परिमार्जनसहित १५ बुँदे माग अघि सारेको छ। ती माग पूरा गर्न सरकार गम्भीर नभएको भन्दै व्यवसायीहरूले देशभरका म्यानपावर कार्यालय बन्द गर्ने निर्णय गरेका हुन्। संघका अध्यक्ष डिकबहादुर खत्रीका अनुसार सरकारसँग वार्ता र आन्दोलनका कार्यक्रमलाई सँगसँगै अघि बढाइनेछ। यस विषयमा आज युवा तथा रोजगार मन्त्रालयसँग थप छलफल गर्ने तयारी रहेको उनले बताए।
शुक्रबार मन्त्रालयसँग भएको छलफलमा व्यवसायीहरूले आफ्ना मागबारे धारणा राखेका थिए भने मन्त्रालयका अधिकारीहरूले हालसम्म भएका प्रगति तथा कार्य विवरणबारे जानकारी गराएका थिए। संघले गत साउन ७ गते व्यवसायीहरूको विशेष भेला गर्दै सरकारसमक्ष १५ बुँदे माग प्रस्तुत गरेको थियो। मुख्य मागमा वैदेशिक रोजगारीमा जाने श्रमिकबाट म्यानपावर व्यवसायीले लिन पाउने सेवा शुल्क पुनः निर्धारण गर्नुपर्ने र वैदेशिक रोजगार विभागबाट भएका कारबाही फिर्ता लिनुपर्नेलगायत विषय समेटिएका छन्।