काठमाडौँ । काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा सञ्चालन गरिएको विशेष चेकिङका क्रममा ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टाभित्र ७६२ वटा सवारीसाधनका चालकहरूलाई कारबाही गरेको छ। सवारी नियम उल्लङ्घन नियन्त्रण तथा सडक सुरक्षा अभिवृद्धि गर्ने उद्देश्यले प्रहरीले सोमबार बिहानसम्म उपत्यकाका विभिन्न सडकखण्डमा जाँच तथा निगरानी कडा पारेको हो।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार कारबाहीमा पर्नेहरूमा मादक पदार्थ सेवन (मापसे) गरी सवारीसाधन चलाउने ५८ जना, सिसिटिभी निगरानीमार्फत ५३ जना र रातोबत्तीको इशारा उल्लङ्घन गर्ने २७ जना चालकहरू रहेका छन्। यसै गरी तीव्र गतिमा सवारी चलाउने ७६ जना, हर्न निषेधित क्षेत्रमा हर्न बजाउने १३ जना र लेन अनुशासन पालना नगर्ने ३२ जना चालकमाथि पनि कारबाही गरिएको प्रहरीले जनाएको छ।
त्यसैगरी, सवारीको यान्त्रिक अवस्था ठिक नराखी चलाउने १४ जना, एकतर्फी सडक नियम उल्लङ्घन गर्ने १४ जना र अन्य विभिन्न किसिमका ट्राफिक नियम उल्लङ्घन गर्ने ४७५ जना चालकहरूलाई नियन्त्रणमा लिई कारबाही गरिएको छ। सडक दुर्घटना न्यूनीकरण र नियम पालना गराउन उपत्यकामा ट्राफिक जाँचलाई थप कडाइ र निरन्तरता दिइने प्रहरीले जनाएको छ