काठमाडौँ । लगातारको अविरल वर्षाका कारण देशका विभिन्न मुख्य राजमार्ग तथा सडक खण्डहरूमा बाढी र पहिरो खस्दा आवागमन पूर्ण तथा आंशिक रूपमा अवरुद्ध बनेको छ। नेपाल प्रहरीले सोमबार बिहान ६ः३० बजेसम्मको विवरण अद्यावधिक गर्दै कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका दर्जनौँ मुख्य सडकहरू बन्द रहेको जानकारी दिएको छ। बाढी र पहिरोको जोखिमका कारण यात्रुहरूले सास्ती भोग्नु परेको छ भने कतिपय स्थानमा वैकल्पिक मार्गको प्रयोग गरी यात्रा गराइएको छ।
बागमती प्रदेशअन्तर्गत पृथ्वी लोकमार्गको धादिङस्थित गजुरी गाउँपालिका–२ चालिसेमा सोमबार बिहान ५ः४५ बजेदेखि बाढीका कारण सडक पूर्ण रूपमा अवरुद्ध बनेको छ। यस्तै, सम्भावित जोखिमलाई ध्यानमा राख्दै काभ्रेको बीपी राजमार्गमा बेलुका ६ बजेदेखि बिहान ४ बजेसम्म र मकवानपुर–ललितपुर जोड्ने कान्ति लोकपथमा बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म सम्पूर्ण रात्रिकालीन सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। यसैगरी सिन्धुपाल्चोकको भोटेकोशीस्थित कोदारी र लिपिङमा पहिरो खस्दा अरनिको राजमार्ग तथा रसुवाको खाल्टेमा बाढीका कारण त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी सडक खण्ड पूर्ण रूपमा बन्द रहेका छन्।
कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका मुख्य सडकहरूमा पनि पहिरोको प्रभाव गम्भीर देखिएको छ। कोशीको इलामस्थित राजदुवालीमा मेची राजमार्ग र सङ्खुवासभाको खाँदबारी–किमाथाङ्का सडक खण्ड पूर्ण अवरुद्ध छन्। गण्डकी प्रदेशमा म्याग्दीको रुप्सेमा पहिरो जाँदा बेनी–जोमसोम सडक र लमजुङको रामबजारमा पहिरो खस्दा बेँसीसहर–मनाङ सडक पूर्ण रूपमा बन्द भएका छन्। यस्तै लुम्बिनीको भिंगृ–स्वर्गद्वारी सडक, कर्णालीको भेरी करिडोर (जाजरकोट–डोल्पा सडक) का दुई स्थान र सल्यानको कपुरकोटमा राप्ती राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका छन्। अवरुद्ध सडकहरूमा पहिरो पन्छाएर यातायात सञ्चालन गर्ने प्रयास जारी रहे पनि निरन्तरको वर्षाले उद्धार र खुलाउने कार्यमा समस्या उत्पन्न गरिरहेको छ।