काठमाडौँ । भारतका स्थल सेनाध्यक्ष जनरल धीरज सेठ लाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा सोमबार प्रदान गरिने भएको छ । आइतबार नेपाली सेनाका प्रधान सेनापति अशोकराज सिग्देलको औपचारिक निमन्त्रणामा मित्रराष्ट्र पाँच सदस्यीय भ्रमण दलको नेतृत्व गर्दै काठमाडौँ आइपुगेका हुन् ।
नेपाल भ्रमणका क्रममा भारतीय स्थल सेनाध्यक्ष सेठलाई आज सोमबार राष्ट्रपति भवन शीतल निवासमा आयोजना गरिने एक विशेष समारोहका बिच राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाको ‘मानार्थ महारथी’ को दर्जा प्रदान गर्ने कार्यक्रम रहेको छ। नेपाल र भारतबिच सन् १९५० देखि नै एक–अर्का देशका सेनाध्यक्षलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने ऐतिहासिक परम्परा रहिआएको छ।
यसअघि नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलले समेत भारतीय सेनाको मानार्थ महारथी दर्जा प्राप्त गरिसकेका छन् । गत मङ्सिर २७ गते नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा आयोजित विशेष समारोहका बिच भारतीय राष्ट्रपति द्रौपदी मुर्मुले प्रधानसेनापति सिग्देललाई उक्त दर्जा प्रदान गरेको थियो। दुवै देशमा नयाँ सेना प्रमुख नियुक्त भएपछि एक–अर्काको देशको औपचारिक भ्रमण गर्ने परम्पराले दुई देशबिचको पारस्परिक सैनिक सम्बन्धलाई थप विस्तार र प्रगाढ बनाउन महत्त्वपूर्ण योगदान पु¥याउने विश्वास नेपाली सेनाले व्यक्त गरेको छ।