बाजुरा । प्रमुख धार्मिक तथा पर्यटकीय क्षेत्र बडीमालिकामा नेपाल टेलिकमको ४ जी टावर निर्माण कार्य अनिश्चित बनेको छ। करोडौँ मूल्यका टावर उपकरणहरू नेपाली सेनाको हेलिकप्टरमार्फत ढुवानी गरिए तापनि प्राविधिक टोलीको अभावमा जडान कार्य अलपत्र परेको हो।
सञ्चार मन्त्री डा. तिमिल्सिनाले बडीमालिका क्षेत्रमा तत्काल टेलिफोन तथा इन्टरनेट सेवा विस्तार गर्न निर्देशन दिएपछि टेलिकमले प्रक्रिया अगाडि बढाएको थियो। भौगोलिक विकटताका कारण स्थलमार्गबाट सामान लैजान कठिन भएपछि साउन २६ गते हेलिकप्टरमार्फत उपकरणहरू बडीमालिकाको त्रिवेणी पाटन पु¥याइएको थियो।
नेपाल टेलिकम दूरसञ्चार कार्यालय बाजुराका प्रमुख ईन्जिनियर ईश्वर सिंहका अनुसार उपकरण पुग्नुभन्दा एक हप्ताअघि नै प्राविधिक टोली निर्माण स्थल पुगिसकेको थियो। तर, खराब मौसमका कारण समयमै सामान पुग्न नसक्दा उक्त टोली फिर्ता भएको र अब पुनः प्राविधिक खटाउने विषयमा कुनै टुङ्गो नलागेको उनले बताए।
प्रतिकूल मौसमका कारण हेलिकप्टर टावर निर्माण स्थलसम्म पुग्न नसकी तल्लो क्षेत्र त्रिवेणी पाटनमै सामान राखिएको छ। त्यहाँबाट निर्माण स्थलसम्म करिब चार हजार किलोग्राम बराबरका उपकरण मानिसले नै बोकेर लैजानुपर्ने बाध्यता छ। बाजुराका प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाका अनुसार त्रिवेणी पाटनबाट निर्माण स्थलसम्म सामान पु¥याउन बडीमालिका नगरपालिकाले टोली खटाएको छ र आइतबारदेखि सामान बोक्ने काम सुरु भइसकेको छ।
सामान ढुवानी नगरपालिकाले गरे तापनि प्राविधिक टोली जाने टुङ्गो नभएकाले आगामी बडीमालिका मेला अगावै टावर सञ्चालनमा आउने सम्भावना न्यून छ। यस वर्ष बडीमालिकाको मुख्य पूजा भदौ ११ गते हुँदैछ। पुजारी नेत्र पाध्यायका अनुसार मुख्य पूजा ११ गते भए तापनि भदौ १ गते (भोलि) देखि नै मन्दिरमा नित्य पूजा सुरु हुने र दर्शनार्थीहरूको आवतजावत तीव्र हुनेछ। यस्तो अवस्थामा सञ्चार सुविधा नपुग्दा दर्शनार्थी तथा तीर्थयात्रीहरूलाई समस्या हुने देखिएको छ।