काठमाडौँ । नेपालमा यस वर्षको मनसुन सुरु भएयता बाढी, पहिरो तथा डुबानबाट भएको जनधनको क्षतिको समीक्षा गर्दै ‘मनसुन प्रतिकार्य कमाण्ड पोष्ट’ले खोज, उद्धार, राहत तथा पुनस्र्थापना कार्यलाई थप तीव्र र प्रभावकारी बनाउन सम्बद्ध सबै निकायहरूलाई निर्देशन दिएको छ। मनसुन प्रतिकार्य कमाण्ड पोष्टको शनिबार बसेको बैठकले प्रभावित क्षेत्रमा उद्धार तथा राहातको लागि टोलि खटाउने निर्णय गरेको हो ।
मनसुन प्रतिकार्य कमाण्ड पोष्टले ‘विपद् संवेदनशील सामाजिक सुरक्षा तथा राहत वितरण मापदण्ड, २०८१’ अनुसार प्रारम्भिक द्रुत लेखाजोखाको आधारमा प्रभावित परिवारलाई नगद, वस्तुगत सहायता, मृतक राहत तथा घाइतेको निःशुल्क उपचार तत्काल मिलाउन प्रमुख जिल्ला अधिकारी, जिल्ला विपद् व्यवस्थापन समिति र स्थानीय तहलाई निर्देशन दिएको जानकारी दिएको छ । आइतबार बसेको ‘मनसुन प्रतिकार्य कमाण्ड पोष्ट’को बैठकले प्रेस विज्ञाप्ती मार्फत जानकारी दिएको छ ।
त्यसका साथै, अस्थायी आवास तथा पुनर्निर्माण अनुदान, अत्यावश्यक सेवा पुनर्भरण गर्न निर्देशन दिएको जनाएको छ । विपद् प्रभावित निजी आवास पुनर्निर्माण तथा पुनस्र्थापना सम्बन्धी मापदण्ड र कार्यविधि २०८१ अनुसार पीडित परिवारलाई अनुदान दिन बताएको छ । पहिरो र बाढीका कारण अवरुद्ध भएका सडक, खानेपानी, सिँचाइ लगायतका पूर्वाधार मर्मत गरी तत्काल सञ्चालनमा ल्याउन, नदी कटान नियन्त्रण गर्न र प्रभावितहरूका लागि स्वास्थ्योपचार तथा मनोसामाजिक परामर्श सेवा उपलब्ध गराउन सम्बन्धित निकायहरूलाई तोकिएको छ।
बैठकले अति प्रभावित चार स्थानीय तहहरू—रोल्पाको थवाङ र सुनछहारी गाउँपालिका, बाजुराको त्रिवेणी नगरपालिका, तथा जाजरकोटको भेरी नगरपालिका वडा नं. २ र त्यस आसपासका क्षेत्रमा पहिरोको प्रारम्भिक भौगोलिक अध्ययन गर्न राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको नेतृत्वमा जल तथा मौसम विज्ञान विभागसहितको प्राविधिक अध्ययन टोली तीन दिनभित्रै प्रभावित क्षेत्र (फिल्ड) मा खटाउने निर्णय गरेको छ।
हाल देशभर मनसुन सक्रिय भई हिमाली तथा पहाडी भू–भागमा निरन्तर वर्षा भइरहेकाले जमिन गलेर पहिरो, बाढी, आकस्मिक बाढी, र डुबानको जोखिम उच्च रहेको कमान्ड पोष्टले जनाएको छ। सम्भावित जोखिम न्यूनीकरणका लागि मनसुन अवधिभर सम्पूर्ण नागरिक, सुरक्षा निकाय तथा स्थानीय प्रशासनलाई उच्च सतर्कता अपनाउन अपिल गरिएको छ।
कमान्ड पोष्टको आईतबार बसेको बैठकले गत असार ५ गते मनसुन भित्रिएयता देशभर भएका विपद्का घटनामा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै मृतकका परिवारजनमा समवेदना प्रकट गरेको छ। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै बेपत्ता व्यक्तिहरूको खोज तथा उद्धार कार्यलाई निरन्तरता दिने निर्णय गरेको छ।

