काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सले पाँचतारे र्याडिसन होटलमा ग्यासको मौज्दात बढी रहेको भन्दै सार्वजनिक गरिएको टिप्पणीप्रति आपत्ति जनाएको छ।
होटलको व्यावसायिक प्रतिष्ठामा असर पर्ने गरी अपूर्ण र सन्दर्भविहीन सूचना प्रवाह गर्दा निजी क्षेत्र तथा पर्यटन व्यवसायमा नकारात्मक असर पर्न सक्ने चेम्बरको भनाइ छ। हालै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र नेपाल आयल निगमको संयुक्त अनुगमनका क्रममा होटलमा ग्यासको मौज्दात बढी रहेको विषय सार्वजनिक भएपछि चेम्बरले त्यसबारे आफ्नो धारणा सार्वजनिक गरेको हो।चेम्बरका अनुसार पाँचतारे होटलको सञ्चालन प्रकृति, दैनिक खपत र व्यवसायको आवश्यकतालाई बेवास्ता गरी मौज्दातको संख्या मात्रै हेरेर निष्कर्ष निकाल्नु उचित हुँदैन। र्याडिसन होटलमा दैनिक करिब ५० देखि ६० वटा ग्यास सिलिन्डर खपत हुने भएकाले करिब २०० सिलिन्डर मौज्दात रहनु अस्वाभाविक नभएको चेम्बरले जनाएको छ।
व्यावसायिक सञ्चालनका लागि आवश्यक ग्यासको मौज्दातलाई गैरकानुनी गतिविधिसँग जोडेर हेर्न नहुने चेम्बरको स्पष्ट धारणा छ। उसले कृत्रिम अभाव, अवैध कारोबार तथा कानूनविपरीतका गतिविधिको भने कुनै पनि अवस्थामा समर्थन नगर्ने जनाएको छ। तर कानूनी रूपमा सञ्चालनमा रहेका व्यवसायलाई निरुत्साहित हुने गरी अतिरञ्जित सूचना वा प्रचार गरिए निजी क्षेत्रको मनोबल तथा लगानीको वातावरणमा प्रतिकूल प्रभाव पर्न सक्ने चेम्बरले चेतावनी दिएको छ। अनुगमनका क्रममा भेटिएका विषयलाई तथ्य र व्यवसायको वास्तविक आवश्यकताका आधारमा मूल्यांकन गर्नुपर्ने चेम्बरको भनाइ छ। विशेषगरी होटल तथा पर्यटन क्षेत्रजस्ता ठूलो परिमाणमा ग्यास र इन्धन खपत गर्ने व्यवसायमा घरायसी प्रयोगको मापदण्डका आधारमा मौज्दात निर्धारण गर्न नहुने उसको तर्क छ।
निजी क्षेत्रसँग समन्वय गर्न आग्रह
चेम्बरले होटल तथा पर्यटन व्यवसायसहित अन्य उद्योगमा आपूर्ति, नियमन वा अन्य समस्या देखिए सम्बन्धित निकायले व्यवसायी तथा निजी क्षेत्रका प्रतिनिधिमूलक संस्थासँग छलफल र समन्वय गरी समाधान खोज्न आग्रह गरेको छ।नियमन आवश्यक भए पनि त्यसकै नाममा वैध व्यावसायिक गतिविधिलाई हतोत्साहित गर्ने वातावरण बनाउन नहुने चेम्बरको धारणा छ। कुनै व्यवसायको प्रतिष्ठामा असर पार्ने विषयमा सार्वजनिक अभिव्यक्ति दिनुअघि सम्बन्धित निकायले तथ्यको पूर्ण परीक्षण गर्नुपर्नेमा पनि चेम्बरले जोड दिएको छ। तथ्यमा आधारित सूचना, जिम्मेवार अभिव्यक्ति र सरोकारवालाबीचको संवादबाट मात्रै पर्यटन तथा आतिथ्य क्षेत्रप्रतिको विश्वास कायम राख्न सकिने चेम्बरले जनाएको छ। वैध लगानी र व्यवसाय सञ्चालनलाई सहजीकरण गर्ने वातावरण निर्माण गर्नु सरकार तथा नियामक निकायको समेत दायित्व रहेको उसको भनाइ छ।