काठमाडौँ । चितवनमा बाघको आक्रमणबाट एक स्थानीय बासिन्दा घाइते भएका छन्। जिल्लाको राप्ती नगरपालिका–१ स्थित डिपाट बस्तीमा बस्तीमै प्रवेश गरेको बाघको आक्रमणबाट घाइते भएका हुन् । आइतबार बिहान बस्तीमा आएको बाघले आक्रमण गर्दा स्थानीय ६० वर्षीय ठाकुर अधिकारी घाइते भएका हुन्।
बाघको आक्रमणबाट उनको तिघ्रामा सामान्य चोट लागेको छ भने उनको हाल भरतपुर सरकारी अस्पतालमा उपचार भइरहेको छ। सोही बाघले स्थानीय दिला कुमारी तामाङको गोठमा बाँधिएको जर्सी गाईलाई समेत आक्रमण गरी सामान्य घाइते बनाएको छ।
बस्तीमा बाघ पसेर आतंक सिर्जना गरेपछि चितवन राष्ट्रिय निकुञ्जबाट हात्तीसहितको विशेष टोली तत्काल खटिएको थियो। टोलीले व्यापक खोजतलास गर्ने क्रममा आज बिहान ११ः२७ बजे उक्त बाघलाई सफलतापूर्वक नियन्त्रणमा लिन सफल भएको छ।