कञ्चनपुर । कञ्चनपुर जिल्लाको बेलौरी नगरपालिका वडा नं. ५ स्थित रामनगर र बन्तरिया समुदायमा बाढी तथा जलजन्य विपद्को जोखिमबाट बचाउन पूर्वसूचना प्रणाली अन्तर्गत साइरन जडान गरिएको छ। बाढीको उच्च जोखिममा रहेका बासिन्दाहरूलाई यस कार्यले त्यस क्षेत्रमा ठूलो राहत पुग्ने अपेक्षा गरिएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।
वर्षायाममा यस क्षेत्रमा आउने बाढी तथा जलजन्य विपद्का कारण बर्सेनि हुने धनजनको क्षतिलाई न्यूनीकरण गर्न यो साइरन प्रणालीको मुख्य भूमिका रहनेछ। बाढीको जोखिमबारे समयमै सूचना प्रवाह हुने हुँदा स्थानीय बासिन्दाहरूलाई सुरक्षित स्थानमा सर्न र पूर्वसतकता अपनाउन पर्याप्त समय मिल्नेछ।
उक्त समुदायमा पूर्वसूचना साइरन जडान कार्य विभिन्न संघसंस्था तथा निकायहरूको साझेदारी र सहकार्यमा सम्पन्न भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।
विज्ञहरूका अनुसार बाढीको पूर्वसूचना प्रवाह गर्ने यस्ता प्रविधिहरूको जडान हुनु विपद् जोखिमयुक्त क्षेत्रमा सुरक्षित समुदाय निर्माण गर्ने दिशातर्फ एक महत्वपूर्ण र प्रसंशनीय कदम हो। यसले स्थानीय स्तरमा विपद् पूर्वतयारीको क्षमता अभिवृद्धि गर्न समेत सघाउ पु¥याउनेछ।