जाजरकोट । जाजरकोटको भेरी नगरपालिका–२, रिसाङ तथा आसपासका क्षेत्रमा गएको पहिरोमा परि दुई जनाको मृत्यु भएको छ भने दुई जना बेपत्ता भएका छन्।
शनिबार दिउँसो करिब ४ बजेदेखि परेको अविरल वर्षाका कारण गएको पहिरोले घर तथा टहरा भत्काउनुका साथै ठूलो धनजनको क्षति पुर्याएको नेपाल प्रहरीले जनाकारी दिएको छ। घटनालगत्तै नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको टोली खोज तथा उद्धारका लागि घटनास्थलमा परिचालन गरिएको छ।
प्रहरीका अनुसार पहिरोमा परि भेरी नगरपालिका–२ का करिब ५२ वर्षीय केदार कार्कीको उपचारका क्रममा मेडिकल कलेज कोहलपुरमा आईतबार बिहान मृत्यु भएको छ। यस्तै, सोही वडाको फारुलाका करिब ५४ वर्षीय उमासिंह खत्री आफ्नै घर भत्किएर पुरिएको अवस्थामा साउन ३१ गते बिहान ८ः५५ बजे मृत फेला परेका छन्।
त्यस्तै, पहिरो आएपछि भाग्ने क्रममा भेरी नगरपालिका–२ चिसापानीका करिब ७० वर्षीय भीमबहादुर कार्की र सोही वडाकी करिब ८७ वर्षीया रती खत्री सम्पर्कविहीन (बेपत्ता) भएका छन्। उनीहरूको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
यसैबीच, पहिरोमा सामान्य घाइते भएका अनिता कार्की (२३ वर्ष), युनिश शाही (१० वर्ष) र सुन्तली चदरा (४५ वर्ष) को जिल्ला अस्पताल जाजरकोटमा उपचारपश्चात् साउन ३० गते राति १२ बजे डिस्चार्ज भइसकेका छन्।
पहिरोले भेरी नगरपालिका–३ स्याला बस्ने पूर्णबहादुर विकको ६ कोठे दुईतले ढुंगा–माटोको कच्ची घर पूर्ण रूपमा क्षति भएको छ। घरमा रहेका ५ जनाको परिवार हाल आफन्तको घरमा आश्रय लिएर बसेका छन्। त्यसैगरी, सोही स्थानका भैरवी केसीका २ वटा टिनका अस्थायी टहरा पनि पूर्ण रूपमा भत्किएका छन् (उक्त टहरामा मानवीय क्षति भने भएको छैन)।
पहिरोको उच्च जोखिमका कारण विस्थापित भएका रिसाङ क्षेत्रका ६०–७० घरपरिवारका १५० देखि २०० जनालाई त्रिभुवन आधारभूत विद्यालयको भवनमा राखिएको छ। यस्तै, झ्यालीखेत डाँडामा १६, चिसापानीमा २०, राउटेरे डाँडामा १५ र रिसाङ फारुलामा ३ गरी थप ५४ जनालाई सुरक्षित स्थानमा सारिएको प्रहरीले जानकारी दिएको छ।