सुर्खेत । अविरल वर्षाका कारण जाजरकोटको भेरी नगरपालिका–२ का विभिन्न स्थानमा बाढी तथा पहिरो जाँदा जनधनको क्षति भएको छ। पहिरोमा परी एक जनाको मृत्यु भएको छ भने अन्य तीन जना बेपत्ता र सात जना घाइते भएका छन्।
प्रहरीका अनुसार पहिरोमा परी गम्भीर घाइते भएका स्थानीय केदार कार्कीको उपचारका लागि नेपालगञ्ज लैजाने क्रममा बाटोमै मृत्यु भएको हो। यस्तै पहिरोमा परी फारुलाकी ५४ वर्षीया उमासिंह खत्री र चिसापानीका ७० वर्षीय भीमबहादुर कार्कीसहित तीन जना बेपत्ता भएका छन्। बेपत्ता भएकाहरूको खोजी कार्य जारी रहेको र उनीहरूको अवस्था पत्ता लगाउन स्थानीय र प्रहरी टोली लागिपरेको छ।
बाढीपहिरोमा परी घाइते भएका सात जनामध्ये पाँच जनाको जिल्ला अस्पताल जाजरकोटमा उपचार भइरहेको छ भने गम्भीर अवस्थाका अन्य दुई जनालाई थप उपचारका लागि सुर्खेत पठाइएको छ। लगातारको वर्षा र कठिन भूगोलका कारण उद्धार तथा खोजी कार्यमा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ।