काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र पश्चिममा सरदर स्थानभन्दा केही उत्तरतर्फ नेपाल नजिक अवस्थित रहेकाले देशका अधिकांश भूभागमा सामान्यदेखि पूर्ण बदली भएको छ। हाल बागमती र गण्डकी प्रदेशका धेरै स्थान, लुम्बिनी र कर्णालीका थोरै स्थान तथा कोशी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका धेरै स्थानका साथै कोशी र बागमती प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको छ। यस्तै लुम्बिनी र सुदूरपश्चिमका तराई भूभागका धेरै स्थान, बागमती र गण्डकीका तराई क्षेत्रका केही स्थान तथा मधेस र कोशी प्रदेशका तराई भूभागमा मध्यम वर्षा हुन सक्नेछ। विशेष गरी गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिमका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना औँल्याइएको छ।
आज राति पनि देशभर साधारणतया बदली रही हिमाली तथा पहाडी भूभागका धेरै स्थानहरूमा चट्याङ्गसहित वर्षाको सम्भावना छ। महाशाखाका अनुसार रातिको समयमा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षा हुन सक्छ। विशेष गरी सुदूरपश्चिम प्रदेशको पहाडी तथा तराईका एक–दुई स्थानमा धेरै भारी वर्षाको समेत सम्भावना रहेकाले पहाडी भूभागमा पहिरो र नदीनालामा जलसतह बढ्न सक्ने भन्दै आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।