काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सम्पत्ति शुद्धीकरण छानबिनका नाममा वर्तमान सरकारले राजनीतिक प्रतिशोध साध्न खोजेको गम्भीर आरोप लगाएका छन् । इलाममा आयोजित लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपालको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आफूहरूलाई लक्षित गरी कानुनको दुरुपयोग भइरहेको र सामान्य विषयमा समेत दुःख दिने नियत राखिएको बताएका हुन् ।
सम्बोधनका क्रममा सरकारले गठन गरेको कथित छानबिन आयोगप्रति कटाक्ष गर्दै उनले कानुन नै आफ्ना मान्छे, न्यायाधीश वा सेना र तिनका नातागोतालाई मुद्दा नलाग्ने गरी बनाइएको टिप्पणी गरे । आफूलाई समेत सानो–तिनो विषयमा बयानका नाममा दुःख दिन सक्ने वातावरण बनाइएको भन्दै ओलीले बताए, “हाम्रो जरिकोट पनि कुन पैसाले किनेको भनी सोध्न सक्ने, जरिकोट सिलाउने टेलरलाई समेत धागो कहाँबाट ल्याइस् भन्दै दुई–चार दिन बयान लिन सक्ने स्थिति बनाइएको छ। मुद्दा नचलाए पनि अल्झाउने र दुःख दिने यस्तै काममा उनीहरू लागिपरेका छन्।”
यसैबिच अध्यक्ष ओलीले नेपालको विविधतालाई आत्मसात् गर्दै राष्ट्रिय एकता, समृद्धि र सुशासनका लागि सम्पूर्ण नेपालीहरू एकजुट हुनुपर्नेमा जोड दिए । नेपाल बहुजातीय, बहुभाषिक र बहुधार्मिक देश भएकाले आदिवासी जनजातिको सर्वोपरि विकास, हकअधिकारको संरक्षण र उत्थानका लागि काम गर्दै सिङ्गै देशलाई समृद्ध र शान्तिपूर्ण बनाउन सबै राजनीतिक तथा सामाजिक शक्तिहरू मिलेर अघि बढ्नुपर्ने उनको भनाइ थियो।