काठमाडौँ । खाना पकाउने ग्यासको अभाव सामना गरिरहेका उपभोक्ताहरूलाई राहत दिन नेपाल आयल निगमले काठमाडौँ जिल्ला प्रशासन कार्यालयको समन्वयमा ३१ गते आइतबार विभिन्न सात स्थानहरूबाट सिलिन्डर ग्यास बिक्री वितरण गर्ने भएको छ। ग्यास उद्योगीहरूसँगको सहकार्यमा उपत्यकाका तोकिएका स्थानहरूबाट तोकिएका ब्रान्डका सिलिन्डरहरू सर्वसाधारणलाई बिक्री गरिने निगमले सार्वजनिक सूचनामार्फत जानकारी गराएको छ।
निगमका अनुसार आइतबार काठमाडौँको टेकुस्थित निगमको परिसरबाट नेपाल, एचपी, एभरेस्ट÷सुगम, श्रीराम र सगर ब्रान्डका ग्यास बिक्री गरिनेछ। त्यसैगरी बूढानीलकण्ठको चपलीस्थित पशु सेवा शाखाबाट नेपाल, एचपी र भानु, कीर्तिपुरस्थित राधास्वामी परिसरबाट नेपाल, एचपी, एभरेस्ट÷सुगम, श्रीकृष्ण, साइबाबा र श्रीमाया तथा नयाँ बजारस्थित जुडो हल परिसरबाट नेपाल, एचपी र ओम ब्रान्डका ग्यास उपलब्ध गराइनेछ।
यसैगरी तारकेश्वर नगरपालिकाको परिसरबाट नेपाल र एचपी, चन्द्रागिरि नगरपालिका कार्यालय परिसरबाट लोकप्रिय, नेपाल, एचपी र श्रीमाया तथा भक्तपुरको ठिमीस्थित राष्ट्रिय क्षयरोग केन्द्रबाट नेपाल, एचपी, सूर्य, सगर, एभरेस्ट÷सुगम र एसटीसी ब्रान्डका ग्यास सिलिन्डर बिक्री वितरण हुनेछ।
निगमले एलपी ग्यासको आयात नियमित रूपमा भइरहेको र विक्रेताहरूमार्फत समेत नियमित बिक्री वितरण भइरहेको स्पष्ट पारेको छ। कुनै कारणवश सामान्य विक्रेताहरूबाट ग्यास पाउन नसकी अति आवश्यक परेका उपभोक्ताहरूले आफ्नो नागरिकता वा राष्ट्रिय परिचयपत्र लिई बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म तोकिएका बिक्री केन्द्रहरूमा उपस्थित भई ग्यास खरिद गर्न सक्ने व्यवस्था मिलाइएको नेपाल आयल निगमले जनाएको छ।
