वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले ‘हरित र सुन्दर वीरगञ्ज’ निर्माण गर्ने दीर्घकालीन लक्ष्यका साथ वृहत् वृक्षारोपण अभियानलाई तीव्र रूपमा अगाडि बढाएको छ। सोही अभियानअन्तर्गत शनिबार वीरगञ्ज बसपार्क परिसरमा विशेष वृक्षारोपण कार्यक्रम भव्यताका साथ सम्पन्न गरिएको छ।
कार्यक्रममा बोल्दै कार्यवाहक नगर प्रमुख इम्तियाज आलमले बढ्दो सहरीकरण र वायु प्रदूषणलाई न्यूनीकरण गर्नका लागि वृक्षारोपण अति आवश्यक र अपरिहार्य रहेको बतनएका छन् । उनले महानगरपालिकाभित्रका अन्य सार्वजनिक तथा खुला क्षेत्रहरूमा पनि यो अभियानलाई निरन्तरता दिइने पनि जानकारी दिए । बसपार्क क्षेत्रमा छायादार तथा सौन्दर्यवर्धक विभिन्न प्रजातिका बिरुवाहरू रोपिएको अक्त कार्यक्रममा जनप्रतिनिधिहरू, महानगरका कर्मचारी, सुरक्षाकर्मी, स्थानीय युवा क्लबका प्रतिनिधि तथा सर्वसाधारणको सहभागिता रहेको थियो।
महानगरपालिकाले केवल बिरुवा रोप्ने मात्र नभई तिनको उचित संरक्षण, गोडमेल र व्यवस्थापनमा समेत विशेष ध्यान दिने कार्यवाहक नगरप्रमुखले बताएका छन् । आगामी दिनमा महानगरका अन्य वडाहरू, सार्वजनिक जग्गाहरू तथा प्रमुख सडकका किनारहरूमा समेत योजनाबद्ध रूपमा वृक्षारोपण कार्यक्रम सञ्चालन गरिने महानगरले स्पष्ट पारेको छ।