काठमाडौँ । नेपाल आयल निगमले काठमाडौँ जिल्ला प्रशासन कार्यालयको समन्वयमा शनिबार राजधानीका पाँच वटा प्रमुख बिक्री केन्द्रहरूमार्फत कुल ६ हजार ८ सय २ वटा खाना पकाउने ग्यास सिलिन्डर वितरण गरेको छ। विगत एक महिनादेखि बजारमा ग्यास नपाएर सास्ती भोगिरहेका उपभोक्ताहरूलाई राहत दिने उद्देश्यले सरकारले यी स्थानहरूमा विशेष बिक्री केन्द्र तोकेको थियो। ग्यास खरिदका लागि बिहान ८ बजेदेखि नै बिक्री केन्द्रहरूमा उपभोक्ताहरूको ठूलो घुइँचो र लामो लाइन लागेको थियो।
निगमको तथ्याङ्क अनुसार टेकु परिसरमा रहेको बिक्री केन्द्रबाट सबैभन्दा बढी २ हजार २ सय ९० वटा ग्यास सिलिन्डर वितरण गरिएको छ। यसैगरी पुरानो जिल्ला प्रशासन कार्यालय बबरमहलबाट १ हजार ६ सय, कीर्तिपुरको राधास्वामी केन्द्रबाट ७ सय ६२, यातायात कार्यालय परिसर चाबहिलबाट ७ सय २० र बसुन्धराको राधास्वामी केन्द्रबाट ६ सय वटा सिलिन्डर बिक्री भएका छन्। यी मुख्य पाँच स्थानका अतिरिक्त बालाजु काउन्टरबाट ५ सय र साल्ट ट्रेडिङका जडीबुटी तथा कालिमाटी काउन्टरहरूबाट ३ सय ३० गरी कुल ६ हजार ८ सय २ वटा सिलिन्डर ग्यास उपभोक्तालाई उपलब्ध गराइएको हो।
विभिन्न ब्रान्डका ग्यास सिलिन्डरमध्ये सबैभन्दा धेरै नेपाल ग्यास १ हजार ७ सय ६० वटा बिक्री भएको छ। त्यसैगरी एभरेष्ट÷सुगम १ हजार ४३, एचपी ७ सय ८०, हिमाल ५ सय ४०, सगर ४ सय ६४, श्रीराम ३ सय २७, एसटीसी ३ सय २०, श्री २ सय ८०, ओम १ सय ४०, भानु ८०, साईबाबा÷श्रीकृष्ण ७०, श्रीमाया ६२, लोकप्रिय ५३ र सूर्य ब्रान्डका ५३ वटा सिलिन्डर वितरण गरिएको निगमले जनाएको छ। सरकारले करिब सात हजार सिलिन्डर ग्यास बिक्री गरेको तथ्याङ्क सार्वजनिक गरे पनि घण्टौँ लाइनमा बसेर पनि ग्यास नपाई रित्तो हात घर फर्किनुपरेको भन्दै सर्वसाधारण उपभोक्ताहरूले भने कडा गुनासो र आक्रोश व्यक्त गरेका छन्।