काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले सिरहाको लहानस्थित प्रादेशिक अस्पतालमा तत्काल ट्रमा युनिट सञ्चालनमा ल्याइने घोषणा गरेकी छन् । लहानमा आयोजित एक विशेष कार्यक्रममा बोल्दै मन्त्री मेहताले पूर्ण क्षमताको ट्रमा सेन्टर निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर), भवन निर्माण र विशेषज्ञ चिकित्सकहरूको स्थायी व्यवस्थापनमा केही समय लाग्ने भएकाले नागरिकलाई तत्काल राहत दिन ‘ट्रमा युनिट’ मार्फत सेवा सुचारु गर्न लागिएको जानकारी दिएकी छन् ।
राजमार्ग नजिकै रहेको लहानमा सिटी स्क्यान, ब्लड बैङ्क तथा आँखा अस्पताल जस्ता आवश्यक पूर्वाधारहरू पहिल्यै उपलब्ध रहेकाले ट्रमा युनिट सञ्चालन गर्न सहज हुने मन्त्री मेहताको भनाइ छ। उनका अनुसार प्रदेश सरकारले हालै २९ जना विशेषज्ञ चिकित्सकहरू खटाइसकेको छ। सिटी स्क्यान मेसिन भए पनि रेडियोलोजिष्टको अभावमा सेवा प्रभावित भइरहेको स्वीकार गर्दै उनले अर्थोपेडिक सर्जन र एनेस्थेसिया विज्ञसहितको टोली व्यवस्थापन गरी छिट्टै सेवा सुचारु गरिने प्रतिबद्धता व्यक्त गरेकी छन् ।
यसैबिच स्वास्थ्य बीमाबारे उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री मेहताले बीमा कार्यक्रम बन्द नभएको पनि जानकारी दिईन् । निजी अस्पतालहरूमा मात्र बीमा सेवा रोकिएको र सरकारी अस्पतालहरूमा यो निरन्तर रहेको बताउँदै उनले करिब ९३ प्रतिशत नागरिक सरकारी अस्पतालमै निर्भर रहेकाले यसलाई अझ प्रभावकारी बनाउन सरकार लागिपरेको बताईन् । साथै, बीमाको बक्यौता भुक्तानी र अवैज्ञानिक प्याकेजहरूको पुनरावलोकन (रिभ्यु) गर्ने काम भइरहेको जानकारी समेत दिईन् ।