काठमाडौँ । मुस्ताङमा प्रहरीले भन्सार छलेर ल्याइएका आठ कन्टेनरसहित चालकहरू नियन्त्रणमा लिएको छ । मुस्ताङको घरपझोङ गाउँपालिका–४ जोमसोमस्थित पर्यटक चेकपोस्टबाट प्रहरीले शङ्कास्पद आठ वटा कन्टेनरसहित तिनका चालकहरूलाई नियन्त्रणमा लिएको हो । अवैध वस्तु ओसारपसार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मुस्ताङबाट खटिएको प्रहरी टोलीले साउन ३० गते दिउँसो १२ः०० बजे जोमसोम पर्यटक चेकपोस्टमा चेकजाँच गर्दा उक्त सवारी साधनहरू नियन्त्रणमा लिइएको हो।
जाँचका क्रममा भन्सार यार्डमा परीक्षण नै नगरी सिधै सिल लगाएर ल्याइएको पाइएपछि प्रारम्भिक अनुसन्धानका आधारमा ठुलो मात्रामा भन्सार छली वा अवैध वस्तु हुन सक्ने शङ्का गर्दै प्रहरीले गाडी तथा चालकहरूलाई हिरासतमा लिएको थियो। नियन्त्रणमा लिइएका कन्टेनर र चालकहरूमा धादिङ धार्केका ईश्वर थापा (ना ६ ख ४७४१), दोलखा शैलुङका रत्नबहादुर तामाङ (को १ ख ५६९६), दोलखा भीमेश्वरका उद्धव बस्नेत (बा प्र ०१००६ ख २२४८), पाल्पा तानसेनका धर्मबहादुर नेपाली (बा प्र ०१००६ ख ६२७३), सिन्धुपाल्चोक भोटेकोशीका कर्म शेर्पा (ना ३ ख ७१६०), सिन्धुपाल्चोक जुगलका निरोज नेपाली (ना ६ ख २०२२), काभ्रेपलाञ्चोक पाँचखालका विशाल तामाङ (बा प्र ०१००६ ख ६६११) र सिन्धुपाल्चोक भोटेकोशीका गोपाल श्रेष्ठ (बा प्र ०१–००५ ख २२४५) रहेका छन्।
नियन्त्रणमा लिइएका आठवटै कन्टेनर र आठ जना चालकहरूलाई आवश्यक कारबाही तथा गहन अनुसन्धानका लागि प्रहरीको सुरक्षा टोलीसहित राजस्व अनुसन्धान कार्यालय हरिहरभवन, ललितपुर पठाइएको छ। कन्टेनरभित्र के–कस्ता सामान तथा अवैध वस्तुहरू रहेका छन् भन्ने विषयमा राजस्व अनुसन्धान कार्यालयले विस्तृत चेकजाँच र अनुसन्धान अगाडि बढाउने प्रहरीले जनाएको छ।