काठमाडौँ । नेपाली काङ्ग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले आफू सम्पूर्ण रूपमा पार्टी एकताको पक्षमा रहेको बताएका छन् । शनिबार महाराजगञ्जस्थित आफ्नै निवासमा पुगेका सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले आफू विशेष महाधिवेशनको पक्षमा कहिल्यै नरहेको र त्यसलाई नस्वीकारेको दाबी गरे । विशेष महाधिवेशनको खिलाफमा अदालतमा मुद्दा दर्ता गराएको उल्लेख गर्दै उनले सर्वोच्च अदालतबाट न्याय मिलेपछि पार्टी पुनः एकताबद्ध हुने विश्वास व्यक्त गरे ।
कुराकानीका क्रममा निवर्तमान सभापति देउवाले लोकतन्त्रको रक्षा र सुदृढीकरणका लागि स्वतन्त्र पत्रकारिता अनिवार्य शर्त भएको बताएका छन्। प्रेसले व्यक्तिपूजा नगरी सधैँ निष्पक्ष र वस्तुनिष्ठ भएर समाचार सम्प्रेषण गर्नुपर्नेमा जोड दिँदै उनले लोकतान्त्रिक व्यवस्थामा प्रेस स्वतन्त्रता सबैभन्दा महत्त्वपूर्ण हुने उल्लेख गरे ।
करिब पाँच महिनाको विदेश बसाइपछि हालै स्वदेश फर्किएका देउवाले आफूलाई सुदूरपश्चिम र खास गरी गृहजिल्ला डडेलधुरा भ्रमण गर्ने तीव्र इच्छा रहेको सुनाए । डडेलधुराका जनताले आफूलाई सधैँ माया र समर्थन दिएर जिताएकाले त्यहाँका दाजुभाइ तथा देवीदेवताको दर्शन गर्न जाने इच्छा व्यक्त गर्दै उनले सुदूरपश्चिमको विकासका लागि गर्नुपर्ने जति काम अझै पूरा गर्न नसकेको स्वीकार गरे । स्थानीय जनताले माग गरे अनुसार डडेलधुरामा विमानस्थल निर्माण गर्ने बाँकी काम आफ्नै पहलमा पूरा गर्ने प्रतिबद्धता समेत उनले व्यक्त गरे ।