रोल्पा । रोल्पाको पूर्वी क्षेत्रमा अविरल वर्षासँगै गएको पहिरोले ठूलो मानवीय र भौतिक क्षति पु¥याएको छ। पहिरोका कारण थबाङ गाउँपालिका र सुनछहरी गाउँपालिका अहिले गहिरो शोकमा डुबेका छन्। गत साउन २७ गते बुधबार थबाङ गाउँपालिका–५ कोटलबारामा गएको विनाशकारी पहिरोले सिङ्गो बस्ती बगाउँदा ११ जनाको मृत्यु भएको छ भने २ जना अझै बेपत्ता रहेका छन्। पहिरोमा परी घाइते भएका दुई जनाको प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ।
थबाङको पहिरोमा परेर ज्यान गुमाउनेहरूमा १८ वर्षीया शान्ति पुनमगर, ६० वर्षीय कमलबहादुर पुनमगर, ७५ वर्षीय दलबहादुर पुनमगर, ८० वर्षीया मनखना पुनमगर, ८५ वर्षीया हस्तकला रोकामगर, ७ वर्षीय अशोक पुनमगर, ३४ वर्षीय महेन्द्र घर्ती, ६६ वर्षीया मनी पुनमगर, ३४ वर्षीया विष्णु पुनमगर, ८० वर्षीय बलबहादुर पुनमगर र ६१ वर्षीय लिलबहादुर पुनमगर रहेका छन्। यस्तै ९ वर्षीय अशिम पुनमगर र ८० वर्षीय अजम्बर पुनमगर अझै बेपत्ता छन्। घाइते २२ वर्षीय हिमाल पुनमगर र २५ वर्षीय सञ्जय घर्तीमगरको उपचार भइरहेको छ। पहिरोले थबाङमा ९ वटा घर, एक घुम्ती पसल, दुई गोठ र एक चर्च गरी १३ वटा संरचना पूर्ण रूपमा बगाएको छ। थबाङ गाउँपालिकाका अध्यक्ष ऋषिकेशव बुढामगरले सो अकल्पनीय क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकहरूप्रति श्रद्धाञ्जली र घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ।
यसैगरी, रोल्पाकै सुनछहरी गाउँपालिका–२ स्थित फलबाङ्ग र गिट्ठेमा पनि पहिरोमा परेर चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेहरूमा फलबाङ्गका ७७ वर्षीय वीरबहादुर घर्तीमगर, ६८ वर्षीया शनी घर्तीमगर, ७० वर्षीया लली घर्तीमगर र गिट्ठेका ६४ वर्षीय लामी घर्तीमगर रहेका छन्। अघिल्लो दिन थबाङको उद्धारमा खटिएका सुनछहरीका अध्यक्ष धनबहादुर पुनमगरले आफ्नै पालिकामा यस्तो दुःखद घटना दोहोरिँदा मर्माहत भएको बताउनुभएको छ। रोल्पामा बुधबार र बिहीबार गरी पहिरोमा परेर कुल १५ जनाको ज्यान गएको छ भने घटनाप्रति प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले समेत विज्ञप्ति जारी गर्दै गहिरो दुःख व्यक्त गरेको छ।