काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकारले आफ्नो वाचा र लक्ष्यअनुसार काम नगरे राजनीतिक दलले सरकारलाई जवाफदेही बनाउन सक्ने बताएका छन्।
नेपाली युवा उद्यमी मञ्चको २२औँ वार्षिक साधारण सभामा शनिबार बोल्दै लामिछानेले सरकार आफ्नो लक्ष्यबाट विचलित भए पुनः सही बाटोमा ल्याउने क्षमता राजनीतिक दलसँग रहेको दाबी गरे। “सरकारले काम गरेन भने हामीसँग राजनीतिक पार्टी छ। बाटो बिरायो भने सरकारलाई जतिखेर पनि कान समात्ने क्षमता राजनीतिक दलले राख्छ,” उनले भने।
सरकारको कामकारबाहीलाई लिएर आउने राजनीतिक उतारचढावलाई उनले जहाजमा आउने ‘टर्बुलेन्स’सँग तुलना गरे। कहिलेकाहीँ राजनीतिक रूपमा समस्या वा विवाद देखिए पनि त्यसलाई लिएर आत्तिनुपर्ने अवस्था नरहेको उनको भनाइ थियो।
लामिछानेले प्रतिपक्षी दलहरूले सरकारको अवस्थाबारे विभिन्न टिप्पणी गरेर जनतालाई त्रसित पार्न खोजेको आरोपसमेत लगाए। अहिले सरकारले विकास र संरचना निर्माणको आधार तयार गर्ने चरणमा काम गरिरहेकाले तत्काल ठूलो परिणाम नदेखिँदैमा निराश हुन नहुने उनले बताए।
उनले सरकारसँग गरिएको प्रतिबद्धता कुनै व्यक्ति वा समूहसँग गरिएको सम्झौता नभई इतिहास र आगामी पुस्तासँग गरिएको वाचा भएको बताए। “हामीले एकले अर्कालाई होइन, इतिहासलाई र आउने पुस्तासँग वाचा गरेका हौँ। आफ्नो प्रतिबद्धताबाट पछि हट्ने छुट कसैलाई छैन,” लामिछानेले भने।
उनले सरकारले आफ्नो निर्धारित लक्ष्यबाट बाहिर जान नहुने बताउँदै अहिले सरकार लक्ष्यभन्दा बाहिर नगएको दाबी गरे। सरकारले प्रतिबद्धताअनुसार काम गर्न नसके त्यसलाई सच्याउन राजनीतिक दलले भूमिका खेल्ने उनको भनाइ थियो।