काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीमा सक्रिय रहेका नेता तथा कार्यकर्ताको राजनीतिक भविष्यको सुरक्षाको जिम्मेवारी आफूले लिने बताएका छन्।
शनिबार राप्रपा काठमाडौं महानगरपालिका नगर अधिवेशनको उद्घाटन गर्दै अध्यक्ष लिङ्देनले पार्टीलाई नयाँ ढंगले अघि बढाउनुपर्ने अवस्था आएको भन्दै सक्रिय नेता तथा कार्यकर्तालाई निराश नहुन आग्रह गरे।
उनले राप्रपाका सबै नेता–कार्यकर्ताका लागि आगामी मंसिर २६, २७ र २८ गते हुने पार्टीको महाधिवेशन नै मुख्य ‘अर्जुन दृष्टि’ र ऐतिहासिक कोसेढुङ्गा हुने बताए।
विगत ३५ वर्षदेखि सत्तामा रहेका दलहरूप्रति जनतामा आक्रोश बढिरहेको र नयाँ सरकार गठनपछि पनि मुलुक निराशातर्फ उन्मुख भएको उनको भनाइ थियो। गरिब, सुकुम्बासी तथा आम जनताका पक्षमा राप्रपाले महत्वपूर्ण जिम्मेवारी निर्वाह गर्नुपर्ने उनले बताए।
अध्यक्ष लिङ्देनले पद मात्र खोज्ने तर काम गर्ने तथा राजनीतिक संघर्षका बेला पछि हट्ने व्यक्तिलाई पार्टीमा स्थान नदिइने स्पष्ट पारे। काम गर्ने र चुनाव जिताउन सक्ने क्षमता भएका नेता तथा कार्यकर्ताका लागि भने पार्टीको ढोका सधैँ खुला रहेको उनको भनाइ थियो।