काठमाडौं । बालेन सरकारका निर्णयविरुद्ध राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्रै असन्तुष्टिको स्वर चर्किन थालेको छ। सभापति रवि लामिछाने निकट सांसदहरूले संसददेखि सार्वजनिक मञ्चसम्म सरकारको कार्यशैलीमाथि प्रश्न उठाउन थालेपछि पार्टीभित्रको आन्तरिक खटपट सतहमै देखिन थालेको हो।
सरकारले एक सय दिन पूरा गरिसकेको, महाधिवेशन सकिएको र सरकारका निर्णयमाथि आलोचना बढिरहेका बेला रास्वपाभित्र दुई धार स्पष्ट बन्दै गएको संकेत देखिएको छ। यहीबीच सभापति रवि लामिछाने र उपसभापति तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले धुलिखेलमा करिब २४ घण्टा सँगै बसेर छलफलमा जुटेपछि त्यसलाई पनि पार्टीभित्र बढ्दो अविश्वाससँग जोडेर हेरिएको छ।
महाधिवेशनबाट पारित नयाँ विधानमा सभापतिलाई संसदीय दलको नेता परिवर्तन गर्न सक्ने अधिकार दिइएको भन्दै बालेन पक्ष असन्तुष्ट बनेको छ। उनीहरूले यो विषय केन्द्रीय समिति बैठकमा उठाउने र आवश्यक परे निर्वाचन आयोगसम्म जाने तयारी गरेका छन्। महाधिवेशन सकिएको लामो समय बितिसक्दा पनि समीक्षा बैठक नबोलाइएको विषयले पनि असन्तुष्टि थप बढाएको छ।
उता सरकारका निर्णयमाथि आफ्नै सांसदहरूले खुला रूपमा प्रश्न उठाउन थालेका छन्। सुकुमवासी व्यवस्थापन, सञ्चार संस्थाको परिसरमा शंकास्पद सवारी राखिएको घटना तथा होल्डिङ सेन्टरसँग जोडिएका विषयमा रास्वपा सांसदहरूले संसदमै सरकारको आलोचना गरेका छन्।
सभापति रवि लामिछानेले समेत जनतालाई हानि पुग्ने निर्णय तत्काल सच्याउनुपर्ने धारणा सार्वजनिक गरेका छन्। उनको अभिव्यक्तिलाई सरकारको कार्यशैलीप्रति असन्तुष्टिको संकेतका रूपमा हेरिएको छ।
पार्टीभित्र प्रधानमन्त्री बालेन शाह र अर्थमन्त्री स्वर्णिम वाग्लेको सम्बन्ध, महाधिवेशनमा प्रस्तुत अर्थ–राजनीतिक प्रतिवेदन तथा सरकार सञ्चालनको शैलीलाई लिएर पनि फरक–फरक धारणा देखिएका छन्। त्यसैले धुलिखेलमा भएको रवि–स्वर्णिम भेटलाई आगामी रणनीति र पार्टीभित्र बढ्दो विवाद व्यवस्थापनसँग जोडेर विश्लेषण गर्न थालिएको छ।
रास्वपाभित्र बढ्दो अविश्वास, आफ्नै सरकारविरुद्ध सांसदहरूको खुला असन्तुष्टि र नेतृत्वबीच देखिएको दूरीले आगामी दिनमा पार्टीभित्रको शक्ति सन्तुलनमा नयाँ समीकरण बन्ने संकेत देखिएको छ।