हेटौँडा, १५ फागुन - हेटौँडाका केही कुखुरा व्यवसायीका हजारौँ कुखुरा मरेका छन्। हेटौँडा–७ मा १० हजार बढी कुखुरा मरेकाे किसानले बताएका छन्।
भेटेरिनरी अस्पतालले कुखुरामा एचनाइन भाइरसको सङ्क्रमण भएको पुष्टि गरेकाे छ। तर, त्यहाँ बर्डफ्लुको हल्ला फैलिएपछि र कराेडौँ रुपैयाँको क्षति हुने गरी २ दिनको अन्तरालमा कुखुरा मरेपछि अन्य किसान पनि चिन्तित भएका छन्।
हेटौँडा उपमहानगरपालिकाको व्यावसायिक कुखुरापालनका लागि पकेट क्षेत्र मानिने क्षेत्रमा किसानका हजारौँ कुखुरा केही दिनको अन्तरालमै सखाप भएपछि जिल्लाभरका अन्य किसान पनि बर्डफ्लुको हल्लाले थप चिन्तित बनेका हुन्।
मकवानपुर कुखुरा व्यवसायी सङ्घले मङ्गलबार पत्रकार सम्मेलन गरी बर्डफ्लुको हल्ला निराधार भएको जनाएको छ। सङ्घका अध्यक्ष राजु अधिकारीले बर्डफ्लु रोग नेपालमै नभएको र हेटौँडाका कुखुरामा बर्डफ्लुको कुनै पनि लक्षण नदेखिएको बताए।
अध्यक्ष अधिकारीले आफूहरू मानव स्वास्थ्यप्रति गम्भीर भएकाले सरकारी प्रयोगशालाको परीक्षणमा बर्डफ्लु प्रमाणित भए कुखुरा आफैँ नष्ट गर्ने बताए। उनले भने, “कुखुरा एकैदिनको रोगले मरेको पाइएको छ, त्यस्तो गभारो तथा रानीखेत नाम गरेका रोगले मात्र हुन्छ। हामीलाई थाहा भएअनुसार ती कुखुरा रानीखेत नामक रोगका कारण मरेको हुनसक्छ।”
अध्यक्ष अधिकारीले मकवानपुरमा कुखुरा व्यवसायीले ५ अर्ब रुपैयाँ लगानी गरेको र सञ्चारमाध्यममा गलत कुरा प्रकाशन वा प्रसारण भएमा कुखुरापालन क्षेत्रमा गम्भीर समस्या निम्तिनसक्ने बताए। उनले सञ्चारमाध्यमलाई सत्यतथ्य समाचार सङ्कलनका लागि अनुरोधसमेत गरेका छन्।
त्यस्तै भेटरिनरी अस्पताल तथा पशु सेवाविज्ञको कार्यालयले पनि कुखुरामा बर्डफ्लु नभएको जनाएको छ। कुखुराहरू ‘एचनाइन एन टु भाइरस’ नामक प्रकोपले मरेको केन्द्रका प्रमुख डा. चेतनारायण खरेलले जानकारी दिए। “हामीले सङ्क्रमण पत्ता लगाइसक्यौँ र त्यसको निदान पनि लगभग भइसकेको छ,” उनले भने।