बाजुरा । बाजुराका विभिन्न स्थानमा बुधबार र मंगलबार भएका प्राकृतिक विपत्तिका घटनामा ठूलो संख्यामा पशुचौपायाको क्षति भएको छ। बाजुराको पूर्वी उत्तरी भेगमा पर्ने स्वामीकार्तिक खापर गाउँपालिका–१ जोरुको रानीसैन वनमा चराउन लगिएका ३९ भेडाबाख्रा बुधबार चट्याङ लागेर मरेका छन्।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक नरेशबहादुर शाहीका अनुसार वर्षा भएपछि ओत लाग्नका लागि ओडारमा बसेका बेला चट्याङ पर्दा ती भेडाबाख्राको मृत्यु भएको हो। घटनाको खबर पाएलगत्तै इलाका प्रहरी चौकी स्वामीकार्तिकबाट प्रहरी टोली घटनास्थलतर्फ परिचालन गरिएको छ।
जिल्लाका अन्य स्थानमा पनि प्राकृतिक प्रकोपले क्षति पु¥याएको छ। मंगलबार मात्रै वनमा चराएर घर ल्याउने क्रममा पहिरो जाँदा जगन्नाथ गाउँपालिका–२ माथिल्लो हुनीमा १३ बाख्रा मरेका थिए भने ३८ भेडाबाख्रा बेपत्ता भएका छन्।
सोही दिन त्रिवेणी नगरपालिका–९ पैमाको खोया लेकमा स्थानीय कूलबहादुर साउँदका तीन बाख्रा गोठमै चट्याङ लागेर मरेको प्रहरीले जनाएको छ। लगातारका यस्ता विपत्तिले स्थानीय किसान र भेडीगोठालाहरू मारमा परेका छन्।