काठमाडौँ । सातामा दुई दिन सार्वजनिक बिदा कायम गरिए आन्तरिक पर्यटन प्रवर्द्धनमा सकारात्मक प्रभाव पर्ने पर्यटन व्यवसायीहरूले बताएका छन्।
सरकारले यसअघि छोटो समयका लागि लागू गरेको शनिबार र आइतबारको बिदाले पर्यटकीय क्षेत्रमा केही सुधार देखिएको व्यवसायीहरूको भनाइ छ। इन्धन खपत घटाउने उद्देश्यले लागू गरिएको दुई दिने बिदाले तत्काल ठूलो प्रभाव नपरे पनि यसलाई निरन्तरता दिन सके पर्यटन क्षेत्र पुनः सक्रिय हुने विश्वास व्यक्त गरिएको छ। क्षेत्रीय होटल सङ्घ चितवनका निवर्तमान अध्यक्ष दीपक भट्टराईका अनुसार, सातामा दुई दिन बिदा हुँदा आन्तरिक पर्यटकहरूलाई कम्तीमा एक रात र दुई दिनको छोटो प्याकेजमा यात्रा गर्न सहज हुन्छ। “यसलाई दीर्घकालीन रूपमा लागू गर्न हामीले सरकारसँग आग्रह गर्दै आएका छौँ,” उनले बताए। सङ्घका उपाध्यक्ष गुणराज थपलियाले पनि अन्तर्राष्ट्रिय अभ्यासअनुसार आइतबार सार्वजनिक बिदा दिने प्रचलन रहेको उल्लेख गर्दै यसलाई निरन्तरता दिनुपर्ने बताए। उनका अनुसार, यसले सरकारी खर्चसमेत घटाउन मद्दत पुग्छ।
होटल व्यवसायीहरूका अनुसार शुक्रबार र शनिबार आन्तरिक पर्यटकको चहलपहल बढ्ने गरेको छ भने आइतबार पनि बिदा कायम रहे पर्यटक आगमन अझ वृद्धि हुने अपेक्षा गरिएको छ। होटल भिष्टा चितवनका सञ्चालक समेश सिलवालले दुई दिन बिदाले आन्तरिक पर्यटनमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे। त्यस्तै, वनवास रिसोर्ट चितवनका महाप्रबन्धक प्रकाश न्यौपानेले विगतमा पनि सातामा दुई दिन बिदा दिने अभ्यास भए पनि निरन्तरता नपाएको स्मरण गर्दै यसपटक स्थायी रूपमा लागू गर्नुपर्ने आवश्यकता औंल्याए। चितवनका सौराहा, पटिहानी, मेघौली र भरतपुरजस्ता पर्यटकीय क्षेत्रमा दुई दिन बिदा हुँदा देशभरका आन्तरिक पर्यटकलाई भ्रमण गर्न सहज हुने व्यवसायीहरूको भनाइ छ।