काठमाडौं ।सिरहाको मिर्चैयामा प्रहरीले २४।११० ग्राम ब्राउन सुगरसहित दुई युवकलाई पक्राउ गरेको छ ।
मोटरसाइकलमा सवार तीन जनामध्ये दुई जना प्रहरी नियन्त्रणमा परेका छन् भने एक जना फरार भएका छन् ।जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार मंगलबार राति करिब १०ः३५ बजे मिर्चैया नगरपालिका–३ बलुवा टोलको भित्री सडकमा इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।बलुवाबाट मिर्चैयातर्फ आउँदै गरेको प्रदेश २–०२–०१० प ३९८१ नम्बरको मोटरसाइकलमा तीन जना सवार थिए । प्रहरी टोलीलाई देखेपछि भाग्न खोजेका उनीहरूमध्ये दुई जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
मोटरसाइकलमा सवार व्यक्तिहरूको जाँच गर्ने क्रममा पहेँलो प्लास्टिकको पोका फेला परेको थियो । उक्त पोकाभित्र २४।११० ग्राम ब्राउन सुगर रहेको प्रहरीले जनाएको छ ।पक्राउ पर्नेमा धनुषाको शहीदनगर नगरपालिका–९ का १८ वर्षीय रजनीश यादव र सिरहाको मिर्चैया नगरपालिका–११ का २० वर्षीय नितेश कुमार साह रहेका छन् । फरार हुने व्यक्ति सिरहाको कल्याणपुर नगरपालिका–४ का २० वर्षीय काशिन्द्र साह रहेको प्रहरीले जनाएको छ ।पक्राउ परेका युवक, बरामद लागुऔषध र मोटरसाइकल इलाका प्रहरी कार्यालय मिर्चैयामा राखिएको छ । फरार व्यक्तिको खोजी भइरहेको र घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।