काठमाडौं ।कास्कीमा सञ्चालित जलविद्युत् आयोजनाहरूले वातावरणीय मापदण्ड पालना नगरेको र स्थानीय समुदायको हितलाई पर्याप्त प्राथमिकता नदिएको भन्दै गुनासो बढेको छ ।
नदीमा आवश्यक मात्रामा पानी नछोड्दा जलचर प्रभावित भएको तथा स्थानीय सरोकारवालाले अपेक्षित लाभ पाउन नसकेको विषय उठेपछि जिल्ला समन्वय समिति कास्कीले आयोजनाका प्रतिनिधि र सरोकारवालासँग छलफल गरेको छ ।अन्तरक्रिया कार्यक्रममा जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले जलविद्युत् आयोजना देशको ऊर्जा विकास र जलस्रोत उपयोगका लागि महत्त्वपूर्ण भए पनि वातावरण संरक्षणलाई उत्तिकै प्राथमिकता दिनुपर्ने बताए । उनले आयोजना सञ्चालन गर्दा प्रचलित कानुन, वातावरणीय मापदण्ड र स्थानीय समुदायका सरोकारलाई बेवास्ता नगर्न निर्देशन दिए ।
पौडेलले विकास निर्माणका काम वातावरणमैत्री र जनउत्तरदायी हुनुपर्नेमा जोड दिए । आयोजनाहरूले सम्झौताअनुसार काम नगरेको र प्राकृतिक स्रोत तथा स्थानीय जनजीवनमा नकारात्मक प्रभाव परेको गुनासो आएको उल्लेख गर्दै उनले सुधार गर्न आग्रह गरे ।उनका अनुसार केही आयोजनामा वातावरणीय प्रभाव मूल्याङ्कनको पूर्ण कार्यान्वयन नभएको, स्वीकृतिबिना रूख कटान गरिएको तथा वातावरण संरक्षणसम्बन्धी योजना प्रभावकारी रूपमा लागू नभएको विषय उठेको छ ।
यस्ता कमजोरी तत्काल सुधार नगरे कानुनी कारबाहीको प्रक्रिया अघि बढाइने पौडेलले चेतावनी दिए । उनले जलविद्युत् आयोजनाहरूलाई आफ्नो जिम्मेवारी पूरा गर्दै स्थानीयस्तरमा देखिएका समस्या समाधान गर्न आग्रह गरे ।कार्यक्रममा गण्डकी प्रदेशको ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयका इन्जिनियर जीवन श्रेष्ठले जलविद्युत्सम्बन्धी संवैधानिक व्यवस्था, आयोजना वर्गीकरणका आधार, मापदण्ड र जल विकास गुरुयोजनाबारे प्रस्तुति दिएका थिए ।
छलफलमा सहभागी विभिन्न पालिकाका अध्यक्षहरूले जलविद्युत् आयोजना विकासका लागि आवश्यक भए पनि वातावरण संरक्षण र स्थानीय नागरिकको जीविकोपार्जनका सवालमा कम्पनीहरू थप जिम्मेवार हुनुपर्ने धारणा राखेका थिए ।