काठमाडौँ । अमेरिकी अन्तरिक्ष संस्था नासाले आर्टेमिस–२ अभियानअन्तर्गत चन्द्रमाको नजिकबाट गरिएको ऐतिहासिक उडानपछि ‘पृथ्वी अस्ताउने’ (अर्थसेट) र सूर्यग्रहणका दुर्लभ तस्वीरहरू सार्वजनिक गरेको छ।
उक्त अभियानका क्रममा अन्तरिक्ष यात्रीहरू सवार ओरायन अन्तरिक्षयान चन्द्रमाबाट करिब ४ हजार ६७ माइल नजिक पुगेको थियो। यसै क्रममा उनीहरूले पृथ्वीबाट करिब २ लाख ५२ हजार ७५६ माइल टाढासम्म यात्रा गर्दै अपोलो–१३ अभियानको कीर्तिमानसमेत तोडेका छन्। झन्डै सात घण्टा लामो उडानका क्रममा अन्तरिक्ष यात्रीहरूले चन्द्रमाको यस्तो भाग अवलोकन गरे, जुन यसअघि मानव आँखाले देखिएको थिएन। उक्त समय चन्द्रमाको करिब २१ प्रतिशत भाग सूर्यको प्रकाशले उज्यालो बनेको थियो। यस अवधिमा चार अन्तरिक्ष यात्रीहरूले करिब १० हजार तस्वीर खिचेका थिए। चन्द्रमाको पछिल्लो भाग हुँदै जाँदा करिब ४० मिनेटसम्म सञ्चार अवरुद्ध भएको थियो।

यही समयमा उनीहरूले पृथ्वी चन्द्रमाको क्षितिजमुनि हराउँदै गएको अद्भुत दृश्य अवलोकन गरेका थिए। उडानका क्रममा चन्द्रमाका प्राचीन लाभा प्रवाह, विभिन्न खाडल (क्रेटर) तथा ठूला संरचनाहरू पनि अध्ययन गरिएको थियो। साथै, केही नयाँ क्रेटरलाई नामकरण गर्ने प्रस्तावसमेत गरिएको छ। यस अभियानको अर्को विशेष आकर्षण सूर्यग्रहण थियो। चन्द्रमाले सूर्यलाई ढाक्दा अन्तरिक्ष यात्रीहरूले सूर्यको बाहिरी भाग ‘कोरोना’ स्पष्ट रूपमा देख्न पाए। यो पूर्ण ग्रहण करिब एक घण्टासम्म देखिएको थियो, जुन पृथ्वीबाट देखिने ग्रहणभन्दा निकै लामो समय हो। नासाका अनुसार यी तस्वीरहरूले चन्द्रमाको उत्पत्ति र बनोटबारे वैज्ञानिक अनुसन्धानमा महत्वपूर्ण योगदान पुर्याउनेछन् र भविष्यका चन्द्र अभियानका लागि आधार तयार गर्ने अपेक्षा गरिएको छ।

