काठमाडौँ । आर्टेमिस अभियानका अन्तरिक्ष यात्रीहरू अहिले पृथ्वीबाट निकै टाढा पुगेका छन्। उनीहरूले अहिलेसम्म नासाको ह्युस्टनस्थित केन्द्रसँग निरन्तर सम्पर्क राख्दै आएका छन्, जसले उनीहरूलाई सुरक्षित महसुस गराइरहेको छ।
तर अब उनीहरूको यो सम्पर्क केही समयका लागि टुट्नेछ। अन्तरिक्षयान चन्द्रमाको पछाडिपट्टि पुग्ने बेला चन्द्रमाले नै संकेत रोकिदिने भएकाले करिब ४० मिनेटसम्म पृथ्वीसँग सम्पर्क हुँदैन। यो समयमा चारै जना अन्तरिक्ष यात्रीहरू पूर्ण रूपमा एक्लै हुनेछन्। आर्टेमिसका पाइलट भिक्टर ग्लोभरले यस समयलाई सकारात्मक रूपमा लिन आग्रह गरेका छन्। उनले भनेका छन्–यो समय प्रार्थना गर्ने, राम्रो सोच्ने र सबैले एकअर्काका लागि शुभकामना दिने अवसर हुन सक्छ। यस्तो अनुभव यसअघि पनि भइसकेको छ। करिब ५० वर्षअघि अपोलो–११ अभियानका अन्तरिक्ष यात्रीहरूले पनि यस्तै अनुभव गरेका थिए।
त्यतिबेला निल आर्मस्ट्रङ र बज एल्ड्रिन चन्द्रमामा उत्रिँदा माइकल कोलिन्स भने अन्तरिक्षयानमै एक्लै थिए। चन्द्रमाको पछाडि पुग्दा उनले करिब ४८ मिनेटसम्म कसैसँग सम्पर्क गर्न सकेका थिएनन्। कोलिन्सले आफूलाई त्यस समयमा एक्लो महसुस गरे पनि डर भने नलागेको बताएका थिए। उनले त्यो समयलाई शान्त र विशेष अनुभवका रूपमा लिएका थिए। पृथ्वीमा भने यस्तो बेला निकै चिन्ताजनक हुन्छ। बेलायतको एक स्टेशनले अन्तरिक्षयानको निगरानी गरिरहेको छ र सम्पर्क पुनः आउँदा सबै सुरक्षित छन् भन्ने पुष्टि हुन्छ। वैज्ञानिकहरूका अनुसार भविष्यमा यस्तो सम्पर्क टुट्ने समस्या हटाउने प्रयास भइरहेको छ, ताकि चन्द्रमामा निरन्तर काम गर्न सजिलो होस्।