काठमाडौँ । स्वस्थ र चम्किलो छाला कायम राख्न योग अभ्यास प्रभावकारी हुने विज्ञहरूले बताएका छन्। छालाको प्राकृतिक चमक बढाउन केवल सौन्दर्य सामग्रीमात्र पर्याप्त नहुने भन्दै उनीहरूले स्वस्थ जीवनशैली अपनाउन सुझाव दिएका छन्।विशेषज्ञहरूका अनुसार शरीरलाई पर्याप्त मात्रामा पानी पिउनु आवश्यक छ।
दैनिक ८ देखि १० गिलास तरल पदार्थ सेवन गर्दा छाला सुक्खा हुने र फुस्रो देखिने समस्या कम हुन्छ। मोही, कागती पानी, मह पानी तथा स्ट्रबेरी, काँक्रो, पुदिना र कागतीजस्ता प्राकृतिक फलफूल मिसाइएको पानी पनि उपयोगी मानिन्छ। सात्विक आहार छालाको स्वास्थ्यका लागि लाभदायक हुने बताइएको छ। ताजा मौसमी फलफूल, बदाम, हरियो तरकारी, पालुङ्गो, मेथी र हरियो चियाको सेवनले शरीरमा रहेका विषाक्त पदार्थ हटाउन सहयोग गर्ने जनाइएको छ। ओमेगा–३ युक्त खानेकुरा जस्तै फ्याक्स सिड र जैतुनको तेल पनि उपयोगी हुने चिकित्सकहरूले सुझाव दिएका छन्। योग आसन र प्राणायामले शरीरलाई सक्रिय राख्ने र छालाको स्वास्थ्य सुधार गर्न मद्दत गर्ने बताइएको छ। अनुलोम–विलोम प्राणायाम, पवनमुक्तासन, हस्तपादासन, पश्चिमोत्तानासन, जल नेति र कपालभातिजस्ता अभ्यास छालाको चमक बढाउन सहयोगी हुने विज्ञहरूको भनाइ छ। विज्ञहरूले तनाव कम गर्न र नियमित रूपमा मुस्कुराउन पनि सुझाव दिएका छन्। स्वस्थ जीवनशैली, सन्तुलित आहार र नियमित योग अभ्यासले छालाको प्राकृतिक चमक कायम राख्न सहयोग पुग्ने उनीहरूको भनाइ छ।