काठमाडाैँ । मोरङको विराटनगरमा होटल सञ्चालन गर्दै आएका एक व्यवसायी लागूऔषध ब्राउनसुगरसहित पक्राउ परेका छन्।
पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–११ निवासी ३५ वर्षीय निकु सिंह रहेका छन्। विराटनगर–१२ रोडशेषस्थित उनले सञ्चालन गर्दै आएको विरेन्द्र होटल एण्ड लजबाट प्रहरीले ब्राउनसुगर बरामद गरेको हो। प्रहरीका अनुसार विशेष सूचनाका आधारमा खटिएको टोलीले बुधबार होटलमा छापा मारेको थियो। सो क्रममा ४८ ग्राम ५ मिलिग्राम ब्राउनसुगर र एक थान डिजिटल तराजु फेला परेको थियो। होटलको काउन्टरनजिकै राखिएको झोलाभित्र उक्त लागूऔषध भेटिएको प्रहरीले जनाएको छ। पक्राउ परेका सिंहमाथि लागूऔषध कारोबारसम्बन्धी विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।