काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१ मा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको ज्यान गएको छ।
बिहीबार बिहान भएको दुर्घटनामा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–९ निवासी गीता तिमिल्सिनाको मृत्यु भएको हो। उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार जडीबुटीबाट लोकन्थलीतर्फ गइरहेको ग ०४–००१ प ००४५ नम्बरको ट्रकले आँखा अस्पतालबाट मनोहरातर्फ जाँदै गरेको बा ०२–००१ ब ३०१८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।
ट्रकको ठक्करबाट गम्भीर घाइते भएकी तिमिल्सिनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार मृतकको साथमा भेटिएको त्रिभुवन विश्वविद्यालयको परिचयपत्रका आधारमा उनको पहिचान खुलेको हो। घटनाबारे अनुसन्धान गर्न प्रहरीले दुवै सवारीसाधन र ट्रक चालकलाई नियन्त्रणमा लिएको छ।