काठमाडौं । नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) पदबाट हटाइएपछि दानबहादुर कार्की सरकारी निर्णयविरुद्ध न्यायिक लडाइँमा उत्रिएका छन्।
आफूलाई पदबाट हटाएर डा. मनोजकुमार केसीलाई नयाँ आईजीपी नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णय बदरको माग गर्दै कार्की सर्वोच्च अदालत पुगेका हुन्। बुधबार सरकारले कार्कीलाई आईजीपीको जिम्मेवारीबाट हटाउँदै प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारमा सरुवा गरेको थियो। उक्त निर्णयप्रति असन्तुष्टि जनाउँदै उनले सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेका हुन्।
कार्की निकट अधिवक्ता टिकाबहादुर कुँवरका अनुसार आईजीपी नियुक्तिसम्बन्धी सरकारी निर्णयविरुद्ध रिट सर्वोच्चमा पुगेको छ। हाल उक्त रिट दर्ता प्रक्रियामा रहेको उनले जानकारी दिएका छन्। यसैबीच, मन्त्रिपरिषद्को निर्णयअनुसार डा. मनोजकुमार केसीले बुधबारदेखि नै नेपाल प्रहरीको महानिरीक्षकको जिम्मेवारी सम्हालिसकेका छन्।