काठमाडौँ । जनस्वास्थ्यविद् डा.अरुणा उप्रेती ले घरमै सहजै पाइने मेथी र करेला जस्ता परम्परागत खाद्यवस्तुको प्रयोग घट्दै गएकोप्रति चिन्ता व्यक्त गरेकी छन्। उनका अनुसार तीतो स्वादका कारण धेरैले बेवास्ता गर्ने यी खाद्यवस्तु स्वास्थ्यका दृष्टिले अत्यन्त लाभदायक छन्।
नेवारी समुदायमा मेथीको टुसा उमारी अचार बनाउने चलन पुरानो हो। मेथी दाल, मोही र विभिन्न परिकारमा फुराएर खाने परम्परा पनि रहेको छ। तर पछिल्लो समय बजारमा पाइने जंक फुडप्रति बढ्दो आकर्षणका कारण यस्ता पोषिलो खानेकुरा ओझेलमा परेको उनले बताइन्। उनका अनुसार मेथीमा प्रशस्त रेसा (फाइबर) र लौह तत्व पाइन्छ, जसले कब्जियत कम गर्न, रगत बढाउन तथा मधुमेह र उच्च रक्तचाप नियन्त्रणमा सहयोग पुर्याउन सक्छ। पेट दुख्दा वा पखाला लाग्दा मेथी जाउलो खुवाउने परम्परागत अभ्यास अझै पनि प्रभावकारी मानिन्छ। सुत्केरी आमालाई मेथीको खीर खुवाउने चलनले दूध बढाउन सहयोग गर्ने विश्वास छ।
मेथीको सागमा भिटामिन ‘ए’ प्रशस्त हुने भएकाले बालबालिकाको आँखा, छाला र रोग प्रतिरोधात्मक क्षमता मजबुत बनाउन मद्दत पुग्ने जनाइएको छ। टुसा उमारेको मेथी सलादका रूपमा सेवन गर्दा यसको तीतोपन कम हुने र पोषक तत्व सजिलै प्राप्त हुने उल्लेख छ। यसैगरी करेला पनि स्वास्थ्यका लागि उपयोगी रहेको डा। उप्रेतीले बताइन्। गर्मी याममा करेला सेवन गर्दा पाचन प्रणाली बलियो हुने, भोक बढ्ने तथा मधुमेह भएका व्यक्तिलाई रगतमा चिनीको मात्रा नियन्त्रण गर्न सहयोग पुग्ने विश्वास छ। करेलालाई धेरै तेलमा फ्राइ गर्नुको सट्टा उसिनेर वा झोल तरकारीका रूपमा पकाएर खानु उपयुक्त हुने सुझाव दिइएको छ। डा. उप्रेतीले औषधि सेवन गरिरहेका बिरामीले भने चिकित्सकको सल्लाहबिना औषधि नछोड्न आग्रह गरेकी छन्। उनका अनुसार परम्परागत खाद्यवस्तुको नियमित र सन्तुलित प्रयोगले विभिन्न रोगको जोखिम घटाउन मद्दत पुग्न सक्छ।